महरा एमसीसीकै कोपभाजनमा परेका हुन् त !

फागुन ६, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल जीवनबाट मुक्त भएका छन् । अहिले उनी आफ्नो निवासमा पुगिसकेका छन् । उनले सोमबार १ सय ३४ दिनको जेल जीवनपछि आफ्नो घरमा बास पाएका हुन् । दशैंको रमझम सुरु हुदै गर्दा महराले भने आफ्नो पद प्रतिष्ठा र घरलाई छोडेर जेलमा जानु परेको थियो । यो घटना भएको हो गएको असोज १९ गते ।   

असोज १२ गते संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको भन्दै पीडितले दिएको भिडियो अन्तरवार्ताले महराको साख गिरेको हो । उक्त भिडियो सार्वजनिक भएपछि महरालाई आफ्नै पार्टीबाट आएको दवाबका कारण सभामुख पदबाट राजीनामा दिनु परेको थियो भने, उनलाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । उनले सभामुख पदबाट राजीनामा दिरहँदा झण्डै सांसद पद पनि गुमाउनु परेको थियो । यसैबीच एक सय ३४ दिन पछि उनले आफुलाई लागेको आरोपबाट सफाइ पाएका छन् । गरिमामय पदको पाँचौँ स्थानमा पर्ने सभामुख जस्तो पदमा आसिन महराको साख अदालतले दिएको सफाइले दिलाउला त ?   

के उनीमाथि लागेको बलात्कारीको दाग अब मेटिन्छ त ? पूर्वमाओवादी भित्र निष्ठावान नेताको छवी बनाएका नेता महरालाई अब त्यही आँखाले हेर्न सकिन्छ त ?   

यी अनेक प्रश्नहरु उनले सफाइ पाएसँगै उब्जिएका छन् ।   

उनी जेलमै रहँदा आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै उनको आचरणको खिल्लि उडाउन बाँकी राखेनन् । त्यती मात्रै होइन उनको सरकारका प्रवक्ता समेत रहेका गोकुल बाँस्कोटाले पनि सार्वजनिक रुपमै धेरै कुरा भन्न भ्याए । तर सोमबार सफाइ पाएर अदालतबाट उनी छुटिरहँदा उनलाई तीनै प्रचण्डले बधाइ दिएका छन् । सबैको नजरमा बलात्कारी भएका उनलाई फूलमालाले अभिनन्दन समेत गरियो । तर उनले सफाइ पाए पनि उनलाई हरेक नजरले बलात्कारी नै भन्ने छ, ठान्ने छ !   

महरालाई जेलसम्म पुर्याउन भूमिका खेल्ने विषय अमेरिकन मिलेनियम च्यालेन्ज (एमसीसी) त होइन ?  प्रश्न अनुत्तरीत छ ।  

५० अर्ब रुपैंया बराबरको अनुदान सहयोग गर्ने सम्झौतामा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए । कांग्रेसको पालामा भएको उक्त सम्झौतालाई नेकपा नेतृत्वले पनि स्वीकार गरिसकेको छ । तर उक्त अनुदानलाई मन्त्रिपरिषदले स्वीकार गरेर संसदमा पठाए पनि तत्कालिन सभामुख कृष्णबहादुर महराले छलफल नै अगाडि नबढाइ थन्क्याएका थिए ।   

एमसीसीलाई संसदमा थन्क्याउँदा प्रधानमन्त्री केपी शर्मा ओली समेत महरासँग रुष्ट बनेका थिए । त्यसको भाव उनले दिएको एउटा अन्तरवार्तामा झल्किन्थ्यो ।   

के एमसीसी संसदमा थन्क्याएकै कारण तत्कालिन सभामुख महराले पदबाट राजीनामा मात्रै होइन जेल नै जानु परेको हो त ?   

महराले संसदबाट सजिलै एमसीसी पास हुन नदिने संकेत देखिएपछि अमेरिका लगाएत नेपालमै एमसीसी पास गराउन प्रयत्नरत मुलुकको बागडोर सम्हालेका केही व्यक्तिहरुले नै महरालाई जेल पठाएका हुन् ! 

सोमबार उनी निर्दाेष सावित भएर जेलबाट बाहिरँदै गर्दा उनका समर्थकहरुले लगाएको नाराले यही इङ्कित गरिरहेको भान हुन्थ्यो । उनका समर्थकहरुले एमसीसी खारेज गर भन्दै नारा लगाएका सुनिन्थे ।   

त्यतीमात्रै होइनन् सोमबार अदालतबाट सफाइ पाएपछि जारी गरेको विज्ञप्तीमा पनि उनले संकेतीक रुपमा नै एमसीसीको विरोध गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘एक देश भक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सँधै थियो, अहिले पनि छ र सदैब रहिरहने छ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखिनै गौरवपूर्ण रहेको छ र सँधै रहिरहने छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *