१६ वर्षपछि मछिन्द्रलाई शहिद स्मारक फुटवलको उपाधि

फागुन ३, काठमाडौं । दशरथ रंगशालामा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । आज शनिबार रंगशालामा भएको खेलमा मछिन्द्रले आर्मीलाई १–० गोल अन्तरले हराउँदै १६ वर्षपछि लिगको उपाधि हात पारेको हो ।   

मछिन्द्रले जारी प्रतियोगितामा कूल ३१ अंक बनाएर उपाधि सुरक्षित गर्दा दोस्रो स्थानमा चित्त बुझाएको आर्मीले २९ अंक बनायो ।   

मछिन्द्रले पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको हो । अन्तिम खेलमा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । 

रञ्जित धिमालको फ्रिकिक हेडबल क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए । विकासको आत्मघाती गोलले आर्मी भने पहिलो पटक लिग उपाधि जित्नबाट बन्चित भयो । 

विस २०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मछिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो । सो क्रममा मछिन्द्रले १३ खेलबाट ३१ अंक बनायो ।   

आजको खेलमा मछिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच भए । मछिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकालेको थियो ।   

जारी प्रतियोगितामा आर्मीले ९ जित, २ बराबरी र २ खेलमा हार ब्यहोरेको थियो । लिगमा २८ अंक सहित मनाङ मर्स्याङ्दी क्लब तेस्रो, २६ अंकका साथ थ्री स्टार चौंथो र २० अंक सहित नेपाल पुलिस क्लब पाँचौं स्थानमा रहे । 

जावलाखेल युथ क्लब १९ अंक सहित छैटौं स्थानमा रह्योे । ४ अंक जोडेको सरस्वती युथ क्लब ’बी’ डिभिजनमा घटुवा भएको छ । अब शीर्ष ६ टोलीले आगामी बैशाखमा हुने राष्ट्रिय लिग खेल्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *