आज ग्याल्पो लोसार मनाइँदै, बराह वर्ष पूरा भई मुसा वर्ष शुरु हुने मान्यता

फागुन १२, काठमाडौं । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।  

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७औँ ग्याल्बो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ । 

आज बराह वर्ष पूरा भई सोमबारदेखि मुसा वर्ष सुरु हुने शेर्पा जातिको संस्कृतिका सम्बन्धमा खोज गरिरहनुभएका टीका शेर्पाले जानकारी दिए । 

ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्बो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्बो ल्होसार नामकरण भएको अनुसन्धानकर्ता शेर्पाले सुनाए ।  

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *