नाम सिफारिस भएपनि प्रधानमन्त्रीले उपकुलपति नियुक्ति नगर्दा चलखेलको आशंका !

फागुन १५, काठमाडौं । मुलुककै सुविधा सम्पन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्ण उपकुलपति विहिन भएको ७ महिना वितिसक्दा पनि सरकारले पूर्ण उपकुलपति नियुक्ति गर्न सकिरहेको छैन । अहिले प्रतिष्ठान कार्यवाहक उपकुलपतिको नेतृत्वमा छ । 

प्रतिष्ठानको उपकुलपति नियुक्तिकालागि स्वास्थ्यमन्त्रीको सर्च कमिटिले तीन जनाको नाम प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरेपनि प्रधानमन्त्रीले चासो नदिँदा उपकुलपति छनौट प्रक्रियामा चलखेल भइरहेको आशंका उब्जिएको छ ।   

कतिपय राजनीतिक दलहरु र उपकुलपतिका आकांक्षीहरुका पक्षधरले राजनीतिक लविङ गरेकै कारण उपकुलपति नियुक्तिमा समय लागेको बताइएको छ । कमिटिले माघ १९ गते नै प्रधानमन्त्री समक्ष उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेपनि प्रधानमन्त्रीले अहिलेसम्म निर्णय नगर्नुमा आशंका उब्जिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले मकालु खबरसँग भने । प्रधानमन्त्रीलाई स्वतन्त्र रूपमा उपकुलपति नियुक्ति गर्न ब्यवधान उत्पन्न भएकाे स्राेतकाे दावि छ । 

‘सर्च कमिटिले नाम सिफारिस गरिसकेको छ । प्रधानमन्त्रीले ती मध्येबाट एक जनाको नाम सिफारिस गर्नुपर्ने अहिलेसम्म आएको छैन ।’ एक सहसचिब तहका कर्मचारीले भने । उनले प्रतिष्ठानहरुको उपकुलपति नियुक्ति राजनीतिक नियुक्ति भएकोले उपकुलपति नियुक्तिका ढिलाई भएको हुन सक्ने बताए । ‘आकांक्षीहरु धेरै छन्, फेरी राजनीतिक नियुक्ति हुने भएकोले पार्टीहरुको चाहना र आकांक्षा बुझेर मात्र नियुक्ति होला ।’   

प्रतिष्ठानमा लामो समय पूर्ण उपकुलपति नहुँदा अन्यौलता छाएको प्रतिष्ठानका सिनियर चिकित्सकहरुले बताएका छन् । उनीहरुले जो आएपनि प्रतिष्ठानलाई विकास गर्ने र ब्यक्तिगत स्वार्थ भन्दा माथि रहेर काम गर्ने ब्यक्ति आउनुपर्ने बताएका छन् । प्रतिष्ठानका फ्याकल्टी, शिक्षक कर्मचारीहरुले हाम्रालाई भन्दापनि राम्रालाई नियुक्ति दिएर प्रतिष्ठानको गतिरोध अन्त्य गर्नुपर्ने माग गरेका छन् ।   

हाल प्रतिष्ठानमा उपकुलपति सहित रजिष्ट्रार पद समेत खाली रहेको छ । चार पदाधिकारीको समन्वयमा चल्ने प्रतिष्ठानमा अहिले कार्यवाहक उपकुलपति डा. खनालले शिक्षाध्यक्ष र रजिष्ट्रारको काम पनि सम्हाल्दै आइरहेका छन् । अस्पताल निर्देशकमा डा. गौरिशंकर शाह रहेका छन् ।   

मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार उपकुलपतिका लागि प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा. गुरु खनाल, प्रतिष्ठानकै मेडिसिन विभागका प्रमुख प्रा.डा. संजिव शर्मा तथा विराटनगरका डा. ज्ञानेन्द्र गिरीको नाम सिफारिसमा परेको छ ।   

सिफारिसमा परेकाहरु तीन जना मध्ये एक जनालाई प्रधानमन्त्रीले सिफारिस गर्ने प्रावधान छ । तर, सिफारिस गरिएको एक महिना हुनै लाग्दा समेत उपकुलपति सिफारिस नहुँदा राजनीतिक लविङ र चलखेल बढेको आशंका छ ।   

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले नाम आएपनि प्रधानमन्त्रीले अहिलेसम्म निर्णय गरिनसकेको बताए । मकालु खबरसँगको सम्पर्कमा उनले राजनीतिक रुपमा लविङ चलिरहेको र पार्टीका मान्छेहरु समेत प्रधानमन्त्री कार्यालयमा आइरहेको जिकिर गरे । ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै विषयमा कुरा गर्न मान्छेहरु आएका त छन्, तर प्रधानमन्त्री प्रायः बालुवाटारबाटै निर्णय गर्नुहुन्छ । धेरै कुरा थाहा भएन ।’ नाम नलेख्ने शर्तमा उनले भने ।   

प्रतिष्ठानका तत्कालिन उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई ८ लाख घूस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेपनि उनी बर्खास्तमा छन् । गएको असार अन्तिम साता प्रतिष्ठान भित्रैबाट घुस रकम सहित पक्राउ परेका डा. रौनियार त्यस अघि प्रतिष्ठानको ४२ औं सिनेटबाटै निलम्बनमा परेपनि सिनेटको निर्णय विरुद्ध सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर काममा फर्किएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =