दिलीप हत्याका आरोपी तीनजना जेल चलान

फागुन १, धनुषा । खोलामा बालुवा गिट्टी उत्खननविरुद्ध उत्रिएका धनुषाका दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या गरिएको आरोपमा तीनजनाई पूर्वपक्षका लागि जेल चलान गरिएको छ । तीनजना आरोपी भने धरौटीमा रिहा भएका छन्।
जिल्ला आदलत धनुषाले दिएको आदेशानुसार टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाईपुर्पक्षका लागि जेल चलान गरेको हो ।
पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो जनही २५ हजार धरौटी रकम बुझाएर साधारण तारेखमा रिहा भएका छन्।

जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश दिएको अदालतले जनाएको छ।
खोला उत्खनन भइरहेको जानकारी पाएपछि गएको २५ पुसको बिहान दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादवका हकमा घटनालगत्तै खबर गरेको र रोशन–दिलीपबीच कुनै किसिमको वैमनश्य नरहेको देखिएकाले उनलाई तारेखमा रिहा गरेको अदालतले जनाएको छ।
घटनामा सत्यनारायण र शत्रुधनको समेत संलग्नता नदेखिएकाले तारेखमा रिहा भएका हुन्।
घर नजिककैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीप महतोको हत्या भएको थियो।








