बालुवाटार प्रकरणमा गगन थापाको व्यंग्यः थाहा पाइहाले होइन, होइन भन्नू !

फागुन ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले बालुवाटार प्रकरणमा स्वस्थानीको कथा सुनाएर व्यंग्य गरेका छन् ।
गएको माघ २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो, जसमा कांग्रेस उपसभापति विजयकुमार गच्छदार र सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलको समेत नाम जोडिएको थियो ।
मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले उक्त प्रकरणमा केहीलाई छुट दिएको विषयमा बोल्दै उनले उन्मुक्ति पाएका र संरक्षण दिनेमाथि व्यङ्य गरेका हुन् ।

संसदमा उनले भने, ‘चोरीको सामान सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू । थाहा पाइहाले भने होइन, होइन भन्नू ! चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू !’
उनले थपे– ‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् ।इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय धन्यवाद ।’








