तिर्थयात्रामा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई भगवती चौधरीको सान्त्वना

फागुन १५, काठमाडौं । तिर्थयात्रामा जाँदा सवारी दुर्घटनामा दिवंगत भएका परिवारका घरमै गएर नेकपाकी केन्द्रीय सदस्य समाजसेवी भगवती चौधरीले समवेदना ब्यक्त गर्दै राज्यसँग उचित सहयोगको अपिल गरेकी छिन् ।
भारतको तमिलनाडुको सेलम जिल्लामा बस दुर्घटनामा परी इटहरी, खनार, सोनापुर इटहरी वडा नं. १० का ६ जना सहित १० जनाको निधन भएपछि ती परिवारलाई दुखः ब्यक्त गर्दै नेतृ चौधरीले उपचारार्थ घाइतेहरुलाई सहयोग गर्न अनुरोध गरेकी छिन् ।
चौधरीले दुर्घटनामा ज्यान गुमाएका १० जनाको शव नेपाल ल्याउन सहयोग गर्ने नेपाल सरकार र भारतीय दुतावासलाई पनि धन्यवाद दिँदै भारतमा उपचाररत घाइतेहरुलाई उपचारका लागि सहयोग गर्न अनुरोध गरेकी छिन् ।

गत फागुन ८ गते भएको उक्त दुर्घटनामा सिंगो गाउँनै शोकमा रहेको बेला नेतृ चौधरी, स्थानीय नेकपाका नेताहरु सहित शोकसन्तप्त परिवारलाई समवेदना ब्यक्त गर्न इटहरी १० का ६ घरमा पुगेकी थिइन् । ‘यो दुर्घटनामा इटहरी, खनार, सोनापुरले समाजसेवी, बुद्धिजिवीहरु समेत गुमाएको छ । शोक सन्तप्त परिवारलाई समवेदना ब्यक्त गर्दछु ।’ उनले भनिन् ।
इटहरी, खनार र सोनापुरका ३४ जनाको टोली भारतको ३५ दिने तिर्थयात्रामा निस्किएका थिए । तिर्थयात्राको १५ दिनमा भारतको तमिलनाडु सलेम जिल्लाको बेङलोर हाइवे सडकमा विहान होटल खोज्न जाने क्रममा विपरित दिशाबाट तिब्र गतीमा आएको ट्रकले बसलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा बसमा सवार ३४ यात्रु मध्ये फुलसरी देवी चौधरी, रसीलाल चौधरी, बुधनी थरुनी चौधरी, गोपाल तामाङ, टीका राम चौधरी, बिरबहादुर राई, पवनलाल चौधरी, केदार चौधरी, मञ्जु राई, बीरबहादुर राईको निधन भएको थियो । बसमा सवार १८ जना घाइते भएका थिए । उनीहरुको भारतमै उपचार भइरहेको छ ।








