फिफाको प्रतिबन्धमा रहेका गणेश थापा एन्फाको गतिविधि हेर्दै

माघ २७, काठमाडौं । फिफाको १० वर्षे प्रतिबन्धमा परेका अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष गणेश थापा यतिबेला फुर्सदमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एन्फामा भएको भ्रष्टाचारको छानविन मुल्तबीमा राखेपनि विश्व फुटवल संघ (फिफा) ले भ्रष्टाचार गरेको ठहर गर्दै १० वर्ष प्रतिबन्ध लगाउँदा फिफाको प्रतिबन्धका विरुद्ध न्याय खोज्न फिफाकै ढोका ढक्ढक्याउने अभिब्यक्ति दिएका थापा अहिले एन्फाका गतिविधिमा अभिब्यक्ति दिँदै बसेका छन् ।   

नेपाली फुटवल क्षेत्रको विकासमा एन्फाले गरेका काम कारवाही खासै गतिलो नभइरहेको बताउँदै आएका गणेश थापाले हिजो आइतबार एन्फाको बैठकले गरेका निर्णयका सन्दर्भमा पनि मुख खोलेका छन् ।   

सामाजिक सञ्जाल फेसवुकमा एन्फाका पूर्वअध्यक्ष गणेश थापाले एन्फाको निर्णय हरुका सन्दर्भमा अभिब्यक्ति दिएका छन् । उनले चार जिल्लाका अध्यक्षहरुलाई र पूर्व मानार्थ अध्यक्ष टासी घलेलाई भ्रष्टाचारको मुद्दा उठाएकोमा र अदालत गएकोमा कारबाहीको निमित्त अनुशासन समितिमा पठाउने निर्णय गरियो भन्ने निर्णयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।   

उनले सबैभन्दा पहिला टासी घले पूर्व मानार्थ अध्यक्ष भएको जिकिर गरेका छन् । थापाले टासी घलेलाई अदालतले अर्को निर्णय नभएसम्मको निमित्त यथावत् मानार्थ अध्यक्षमा राख्नु भन्ने आदेश दिएकोले एन्फाले उक्त आदेशको अवहेलना गरेको दावि गरेका छन् ।   

थापाले जिल्लाका अध्यक्षहरुले लगाएका आरोपहरु निष्पक्ष रुपमा छानबिन भएपछि सत्य तथ्य कुराहरु थाहा हुने बताउँदै यसरी अदालत जाने कामको सुरुवात वर्तमान एन्फाको अध्यक्षबाट नै भएको जिकिर गरेका छन् । ‘कारबाही गर्ने हो भने वर्तमान एन्फा अध्यक्षलाई पहिले कारबाही गरिनु पर्दछ ।’ उनले भनेका छन् । ‘यसभन्दा अगाडि पनि पटक–पटक अनुशासन समितिमा पठाउने निर्णय भएका थिए । फेरि एकपटक अनुशासन समितिमा पठाउने निर्णय भएछ’, उनले आफ्नो स्टाटसमा लेखेका छन् । 

थापाले भुटानमा भएको अण्डर १९ फुटवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने नेपाली राष्ट्रिय यूवा फुटवल टिमलाई हालसम्म पुरस्कार नदिनुको कारण के हो प्रष्ट पार्न भनेका छन् ।   

यसैगरी एन्फाले गठन गरेको प्रदेश कमिटीहरु अबैधानिक रहेको पनि प्रष्ट्याएका छन् । भने, साग फुटवल प्रतियोगितामा महिला फुटवल टोलीलाई दिइएको पुरस्कार पनि कम भएको बताएका छन् । ‘सागमा प्रथम स्थान हासिल गर्ने पुरुष टिमको दाँजोमा दोस्रो स्थान हासिल गर्ने महिला फुटबल टिमलाई पुरस्कार कम भयो । त्यसकारण यो सच्याउनुपर्छ भन्ने मेरो एन्फालाइ सुझाव हो ।’थापाले भनेका छन् । 

फिफाको प्रतिबन्धमा परेका गणेश थापाले एन्फाको आलोचना गर्दा कतिपयले समर्थन गरेका छन् भने कतिले आलोचना पनि गरेका छन् । चारवर्ष अघि प्रतिबन्धमा परेका थापा अझै छ वर्षसम्म फुटवलका कुनैपनि गतिविधिमा संलग्न हुन पाउँदैनन् ।   

नेपाली फुटवल क्षेत्रमा लामो समय विताएका थापाले यहि फागुनमा आफ्नो आत्मकथा गणेश थापा लिएर आउँदैछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *