सैनिक हेलिकोप्टर लिएर भारत अतिक्रमित कालापानी उडे रक्षामन्त्री पोखरेल

फागुन ५, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुलाको कालापानी क्षेत्रको अवलोकनका लागि उडेका छन् । बिहान सेनाको हेलिकोप्टर लिएर दार्चुला सदरमुकामबाट उपप्रधानमन्त्री पोखरेल कालापानीतर्फ उडेका हुन् ।
व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र अवलोकनका लागि उपप्रधानमन्त्री पोखरेलसहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिंह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्र प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार उपप्रधानमन्त्रीसहितको टोलीले ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिति बुझ्ने छ । पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको छ ।

उपप्रधानमन्त्री पोखरेल कालापानी अवलोकनमा गएपछि दार्चुलावासीमा कालापानीसहितको सीमा क्षेत्र फिर्ता हुने आशा जागेको छ ।








