धरान १० के रनको उपाधि तीर्थ र सन्ताेषीले जिते

फागुन १०, धरान। आठौं नेवा च्यारिटी प्रभु बैंक धरान–१० के रनको खुला पुरुषतर्फको विजेता भारतीय सैनिक तीर्थ पुन र महिलातर्फकी बिजेता सन्तोषी श्रेष्ठ भएका छन । नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौडहरु मध्येको शनिबार धरानमा सम्पन्न दौडका तीर्थले ३१ मिनेट २५ सेकेण्डमा १० किलोमिटर दुरी पुरा गरेर विजेता रनको उपाधि चुमेका हुन ।   

धरान १० के रनमा तीर्थ पुनको यो पाचौ पटक विजेता मेडल पनि हो  । बाग्लुङ ढोरपाटनका उनी तेस्रो संस्करण देखि विजेता हुदै आएका छन् । उनी भारतीय सेना गोर्खा राइफलका हवल्दार हुन् ।   

त्यस्तै सशस्त्र प्रहरीमा कार्यरत्त खेलाडी पुरुषतर्फ लक्ष्मण मल्लले ३१ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने खिमबहादुर खत्रीले ३१ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका थिए । उनीहरुले सो जितसँगै नगद ५० हजार ३० हजार र २० हजार, टर्फी र प्रमाणपत्र पाए । 

त्यस्तै सोही दौडमा महिलातर्फ सन्तोषी श्रेष्ठले ३४ मिनेट २३ सेकेण्डमा दुरी पार गर्दै प्रथम भईन भने उनी महिलातर्फ विजेता मध्येकी दोश्रो पटककी विजेता भएकी हुन् । उनी चौथो सँस्करणमा पनि प्रथम भएकी थिइन् भने ३ पटक दोस्रो स्थानमा रहेकी थिइन् । महिलातर्फ कै राममाया पुनले ४० मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् भने छेम्बी राईले ४२ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । उनीहरुले जनही नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । 

यसैगरि, १६ वर्षसम्मको प्रतिष्पर्धामा पुरुषतर्फ किरण लिम्बु प्रथम, सियन राई दोस्रो र रोजन राई तेस्रो भए । महिलातर्फ जुम्लाकी वन्दना बुढा प्रथम हुँदा क्रिष्टिना राई दोस्रो र प्रशंशा वन तेस्रो भइन्।  यस्तै, भेट्रानतर्फको पुरुष प्रतिष्पर्धामा दिलबहादुर श्रेष्ठ प्रथम, धर्म मर्हजन दोस्रो र सुवर्ण सुब्बा तेस्रो भए । महिला तर्फ दार्जलिङकी छिरिङ लमु प्रथम, भइन् । भीममाया राई दोस्रो र गीतादेवी लिम्बुले तेस्रो स्थान हासिल गरे। 

१२ वर्ष मुनिको उमेर समुहकाे ३ किलाेमिटर दाैडमा प्रतिष्पर्धामा पुरुषतर्फ अनिष लिम्बु प्रथम, सुजन राई दोस्रो र दिवस राई तेस्रो भए भने महिलातर्फ प्रश्ना भण्डारी प्रथम, इसिका तामाङ दोस्रो र कुसुम राई तेस्रो भएकी थिईन । १६ बर्षसम्म, १२ बर्षमुनिका र भेट्रानतर्फका प्रथम, दोस्रो र तेस्रो खेलाडीहरुलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार सहित ट्रफी पुरस्कार दिइएको थियो ।   

प्रतिष्पर्धामा धरानका मेयर तिलक राई, बिशिष्ट अतिथि एवं मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा लगायतले दौडनुका साथै पुरस्कार समेत वितरण गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *