नसर्ने रोगबारे अभिमुखीकरण, रोगीको संख्या बढेकोमा चिन्ता

फागुन ५ चितवन । चितवनको खैरहनी नगरपालिकामा सोमवार नसर्ने रोगका बारे अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
खैरहनी नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले सर्ने भन्दा नसर्ने रोगको अवस्था जटिल रहेको भन्दै चिन्ता जनाए ।
खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले नसर्ने रोगको अवस्था भयावह रहेको भन्दै सचेतना फैलाउन आवश्यक रहेको बताईन् । खानपान र नियमित अभ्यास नगर्दा नसर्ने रोगका विरामी वढ्दै गएकाले यसमा जनप्रतिनिधी, स्वास्थ्यकर्मीले टोल टोलमा सचेतना फैलाउनु पर्ने उनको भनाई थियो ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जनसंख्याको वृद्धीदर, शहरीकरण, जीवनशैली लगायतका कारण नसर्ने रोगहरुको विरामी वढ्दै गएको वताए । अधिकारीका अनुसार अस्पताल भर्ना हुने विरामी मध्ये करिब ७५ प्रतिशत नसर्ने रोगका बिरामी रहने गरेका छन् ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धिकारीले नसर्ने रोगको वर्तमान अवस्था र भावी रणनिति तथा डाक्टर अरुण बरालले प्राविधिक विषयका बारे सहजीकरण गरेका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले बताए ।
सहसंयोजक शर्माका अनुसार खैरहनीको कुल जनसंख्याको करिब ५ प्रतिशत उच्चरक्तचाप र करिब २ प्रतिशत मधुमेहका बिरामी छन् ।








