बुढासुब्बा गोल्डकप प्रतियोगिताको उपाधि मनाङलाई

फागुन १७, धरान । सुनसरीको धरानमा जारी २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । आज शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै मनाङले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । 

मनाङले उपाधिसँगै नगद रु १० लाख पनि हात पारेको छ । प्रतियोगिताको उपविजेता भएको पुलिसले ५ लाखमा प्राप्त गरेको छ ।   

फाइनल खेलमा मनाङले खेलको ११औं मिनेटमै दयानन्द सिंहको गोलबाट अग्रता लिएको थियो । उनले पेनाल्टी बक्सभित्र पुलिसका गोलरक्षक र संजीत श्रेष्ठबीच तालमेल नमिल्दाको फाइदा उठाउँदै गोल गरे ।   

खेलको दोस्रो हाफको सुरुमै मनाङका निशान लिम्बुले गोल गर्दै पुलिस विरुद्धको अग्रता दोब्बर बनाए । खेलमा पुलिसका लागि ६६ औं मिनेटमा भेला सिलवालले पेनाल्टी मार्फत गोल फर्काए । खेलको इन्जुरी टाइममा विमल रानाले गोल गरेपछि मनाङले ३–१ को जितका साथ उपाधि हात पार्यो ।   

खेलमा मनाङका अञ्जन विष्ट म्यान अफ दि म्याच भए । भने, विमल रानाले उत्कृष्ट गोलकर्ताको पुरस्कार हात पारे । 

प्रतियोगिताको उत्कृष्ट गोलकिपरमा मनाङका अशोक बराल, उत्कृष्ट डिफेन्डरमा पुलिस क्लबका सुमन सुवेदी, उत्कृष्ट मिडफिल्डरमा मनाङका पुजन उपरकोटी, उत्कृष्ट फरवार्डमा पुलिसका कप्तान जुमानु राई र उत्कृष्ट प्रशिक्षकमा मनाङका फुजा टोपे घोषित भए । उनीहरु सबैले २५/२५ हजार नगद प्राप्त गरेका छन् ।   

प्रतियोगितामा चार गोलसहित सर्वाधिक गोलकर्ता बनेका मनाङका दयानन्द सिंहले ३५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् भने, धरान फुटबल क्लबका रिवस मास्के उदयीमान खेलाडी घोषित भएका थिए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी मनाङका सुरज विक भए । उनले होण्डाको डिओ स्कुटर पाए ।   

खेलाडी तथा क्लबहरुलाई फाइनल खेलका प्रमुख अतिथि १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई, अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, धरान फुटवल क्लबका अध्यक्ष किशोर राई लगायतले पुरस्कार वितरण गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *