फागुन ९ र १० गते विराट मेडिकल कलेजमा साफाेग सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

फागुन ७, विराटनगर । निजी अस्पतालको रुपमा वि.सं. २०५६ सालमा मोरङको विराटनगरमा स्थापना भई उच्चतम प्रविधिमार्फत् स्वास्थ्य उपचार सेवा दिइरहेको विराट मेडिकल कलेजले महिलाहरुको तल्लो पेट, प्रजनन तथा पिसाबसँग सम्बन्धित अंगहरु र अविकसित अंगहरुको पुर्नसंरचना गर्ने उद्देश्यले (South Asian Federation Of Urogynaecology (safug) सम्बन्धि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
मेडिकल कलेजले सो विषयमा कलेज सभाहलमा बुधबार गरेको पत्रकार सम्मेलन मार्फत् सो कुरा जानकारी गराएको हो ।
विराट मेडिकल कलेज र नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञहरुको संस्था साउथ एसियन फेडरेशन युरोगाईनोलोजी नेसोगको पूर्व क्षेत्रीय शाखाको संयुक्त आयोजनामा नेपालमा नै पहिलो पटक गर्न लागिएको सम्मेलनमा विराट मेडिकल कलेजका अध्यक्ष, साफोगका सदस्य तथा नेसोगका पू्र्व क्षेत्रीय शाखा अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीले जानकारी दिए ।

साफोगका दक्षिण एसियाली मुलुकका स्त्री रोग तथा महिलाहरुको तल्लो पेट प्रजनन तथा पिसाबसँग सम्बन्धित अंगहरु र अविकसित अगंहरुको पुनस्र्थापनाको क्षेत्रमा काम गर्ने विशेषज्ञ चिकित्सकहरुको संस्था हो ।
जहाँबाट दक्षिण एसियाली मुलुकका पाकिस्तान, बंगलादेश, श्रीलंका भारत, र अन्य राष्ट्रहरुमा अष्ट्रेलिया, बेलायत, सिंगापुर लगायतका करिब १५० जना वरिष्ठ चिकित्सकहरुको सहभागीतासँग २० जना बिरामीको निः शुल्क शल्यक्रिया गर्ने र उक्त शल्यक्रियाको प्रत्यक्ष प्रसारण समेत सम्मेलनमा गरिने छ ।
सो लाईभ सर्जरी विराट मेडिकलका विशेषज्ञ चिकित्सकका साथै अन्य राष्ट्रका विशेषज्ञहरुले गर्नेछन् भने सो सर्जरीमा यौनाङ्ग नभएका तथा अविकसित भएका यौनाङ्ग बनाइदिने तथा गम्भीर प्रकृतिका महिलाहरुमा हुने मुत्र रोग लगायतका समस्याहरुको सामाधान गर्नु, चिकित्सकहरुबीच ज्ञानको आदान प्रदान समेत गर्ने डा. कार्कीले जानकारी दिए ।
डा. कार्कीका अनुसार हालसम्ममा प्रदेश १ र २ गरी करिब ४० जनाले निः शुल्क शल्यक्रियाका लागि नाम दर्ता गरिसकेका छन् ।
डा. कार्कीले सो क्षेत्रमा कार्य गर्ने चिकित्सकहरुले प्रमाणका आधारमा वैज्ञानिक खोजमुलक अनुसन्धान तथा उपलब्धिका विषयमा प्रकाशन र आफ्नो अनुभवको आदान प्रदान गर्दै उक्त विषयमा विभिन्न सञ्चार माध्ययमबाट जनचेतना फैलाउने नै सो अन्तर्राष्ट्रिय सम्मेलनको मुल उद्देश्य रहेको बताए ।
साथै स्वास्थ्य क्षेत्रका अन्तर्राष्ट्रिय विशिष्ट प्रतिनिधिहरुको आगमनले चिकित्सा पर्यटनको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।
सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यता तथा एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतका अन्य मन्त्रीहरु समेतको सहभागीतामा ९ गते बेलुकी साढे ५ बजे उद्घाटन हुनेछ । सो सम्मेलनको दोस्रो तथा अन्तिम दिन फागुन १० गते प्रतिबद्धतासहितको स्वेतपत्र समेत जारी गरिने छ ।
नेपालमा नै पहिलो पटक हुन लागेको सो कार्यक्रम साउथ एशियन फेडरेशन युरोगाईनोलोजी नेसोग नेपालका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीको अगुवाईमा हुन लागेको हो ।








