धरान र इटहरी उपमहानगरपालिकामा आज शोक बिदा

फागुन १३, धरान । सुनसरीको धरान र इटहरी उपमहानगरपालिकाले आज शोक बिदा दिएका छन् । धरानले पूर्व उपमेयरको निधनमा तथा इटहरीले भारतको तामिलनाडुमा भएको दुुर्घटनामा परी मृत्यु भएकाहरुको शोकमा बिदा दिएको हो । 

धरानका पूर्व उपमेयर कृष्ण नारायण पालिखेको आइतबार काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । उनको सोमबार धरानको खत्रीधारामा अन्त्येष्टी गरिएको छ ।  

पालिखे करिब डेढ महिनादेखि राजधानीमा उपचाररत थिए । उनलाई मृगौला र पेटको अल्सरको समस्या थियो । पछि, प्रेसर बढेर टाउकोमा रगत जमेपछि ५ दिनअघि अप्रेशन गरिएको थियो । मृतक पालिखे २०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उपमेयरमा विजयी भएका थिए  तर, पछि मेयर र पार्टीसँग मतभेद बढेपछि उनले उपमेयरबाट राजिनामा दिएका थिए । 

पछिल्लो समय उनी जनसरोकार मञ्च नेपाल नामक संस्था स्थापना गरेर धरानको समसामयिक तथा विकासका मुद्दाहरुमा आवाज उठाउने गरेका थिए । उपमहानगरपालिकाको विकृति, भ्रष्टचारविरुद्धमा जनअभियानको नेतृत्व नै गरेका थिए । उनले सर्दु जलाधार क्षेत्र बचाउनको लागि अभियानको नेतृत्व गरेका थिए । 

उनै पूर्व उपमेयर पालिखेको शोकमा आज बिदा दिने निर्णय गरेको हो । धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले सूचना जारी गर्दै पुर्व उपमेयरको निधनले उपमहानगरपालिका परिवारलाई स्तब्ध बनाएको उल्लेख गर्दै आज एकदिन विदा दिने निर्णय भएको जानकारी दिइएको छ ।   

आज उपमहानगरपालिका कार्यालय साथै मातहतको कार्यालय, सामुदायिक तथा संस्थाक विद्यालयहरु, क्याम्पस तथा कलेज सबैमा बिदा हुने सूचनामा उल्लेख छ । 

उता इटहरी उपमहानगरपालिकाले पनि तामिलनाडु राज्यमा भएको दुर्घटनामा परी मृत्यु भएका इटहरीका ६ जनाको शोकमा बिदा दिएको हो । उनीहरुको बुढीगंगा जमुना मुक्तिघाटमा सामुहिक दाहसंस्कार गरिएको छ । 

नेकपा इटहरीको टोलीले बागडोरा एअरपोर्ट पुगेर उनीहरुको शव ल्याएको थियो । टोलीमा नेकपाका तर्फबाट प्रदेश सांसद लिलम बस्नेत, नेकपा इटहरी अध्यक्ष बहादुरसिंह तामाङ, सचिव काशीनाथ दंगाल लगायत रहेका थिए । दमक नगरपालिकाको शव वाहन र झापा जिल्ला प्रहरीहरुको सहयोगमा शव ल्याइएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 8 =