पूर्व डिआईजी खरेल आउनुहुन्छ भने म कार्यकर्ता भएर काम गर्न तयार छुः ज्ञानेन्द्र शाही

फागुन १५, काठमाडौं । सामाजिक अभियान्ता तथा ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका संयोजक ज्ञानेन्द्र शाहीले पूर्व डिआईजी रमेश खरेल आउन चाहेमा पुनः स्वागत गर्ने बताएका छन् । बिहीबार आयोजित ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानको घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  

पार्टी घोषणा हुनु एकदिन अघि (बुधबार) पूर्व डिआईजी खरेलको संयोजकत्वमा आज उक्त अभियानको घोषणा गर्ने भनिएको थियो । अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिएपछि ज्ञानेन्द्र शाहीको संयोजकत्वमा उक्त अभियानको घोषणा भएको हो ।  

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहितका उद्देश्यले सुरु गरिएको अभियानको घोषणा कार्यक्रममा ज्ञानेन्द्र शाहीले पूर्व डिआईजी खरेल अन्तिम समयमा अभियानबाट अलग्गिदा दुःख लागको बताए ।  

‘पूर्व डिआईजी रमेश खरेल सर अन्तिम समयमा अभियानबाट अलग्गिदा साह्रै दुःख लागेको छ । यदी उहाँ संयोजकमा आउन चाहनुहुन्छ भने म यो पद खाली गरी कार्यकर्ताको भूमिकामा काम गर्न तयार छु’, शाहीले भने ।  

यद्यपी पूर्व डिआईजी खरेलले भने आफू अब उक्त अभियानमा नजोडिने बताए । खरेलले मकालु खबरसँग भने, ‘कुनै पनि पार्टी तथा अभियानको एउटा दर्शन हुन्छ, ढाँचा हुन्छ । त्यसमा हामीलाई चित्त बुझेन, उहाँहरुलाई शुभकामना दिएर हामी निस्केका हौँ । अब हामी त्यो अभियानमा जाँदैनौँ ।’ 

शाहीले मूलुकको विकास एक्लै गर्न नसकिने भन्दै पूर्व डिआईजी खरेल लगायत अन्य प्रतिष्ठित व्यक्ति जोकोही आएपनि आफू अभियानको नेतृत्व सुम्पन तयार भएको पनि बताए ।  

‘मलाई राजनीति नै गर्नुथियो भने आज म नेपाली काँग्रेसमा हुन्थेँ होला । सत्ता र शक्तिको मात्रै लोभ हुन्थ्यो भने आज नेकपामा हुन्थेँ होला’, शाहीले भने, ‘भ्रष्टाचार विरोधी अभियानमा दुःख छ । कुटाइ खानुपर्छ, मुद्दा खेप्नुपर्छ । धम्की खानुपर्छ । सबै सहनुपर्छ । घरमा बाबुआमा त्याग्नुपर्छ । म राष्ट्रहितका लागि जे गर्न पनि तयार छु ।’ 

आज घोषणा गरिएको ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानको संयोजकत्वमा ज्ञानेन्द्र शाही छन् भने सह संयोजकमा नारायणहरी तिवारी, प्रवक्तामा डा. नन्द प्रसाद कार्पी, सह सचिवमा महेन्द्र प्रसाद प्रसाईँ, कोषाध्यक्षमा जाता बराल र सदस्यमा भीमसेन मैनाली रहेका छन् ।  

ज्ञानेन्द्र शाही अभिव्यक्ति र कार्यशैलीका कारण विवादित छन् । उनी ‘नेपालका लागि नेपाली’ अभियानबाट हटाइएका व्यक्ति पनि हुन् । शाही जोडिएकै कारण खरेल समूह अभियानबाट अलग्गिएको हुन सक्ने अनुमान पनि लगाइएको छ ।  

सरकारले सर्वेन्द्र खनाललाई २०७४ माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि खरेलले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका थिए । खरेल आफ्नो इमानदारी पूर्ण प्रहरी कार्यका कारण नेपाली जनताहरू माझ निकै लोकप्रिय रहेका छन् । उनी नेपालको राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान समेत हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *