राष्ट्रियसभामा ललिता निवास प्रकरण बहस: कांग्रेस भ्रष्टाचारको पक्षमा लाग्यो

माघ २३, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टीले नेपाली कांग्रेस भ्रष्टाचारको पक्षमा लागेको आरोप लगाएको छ । ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णय भेदभावपूर्ण रहेको भन्दै प्रतिपक्षी दल कांग्रेसले विरोध जनाइरहेका बेला सत्तपक्षका सांसद रामनारायण विडारीले कांग्रेस भ्रष्टाचारको पक्षमा लागेको आरोप लगाएका हुन् ।
राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद विडारीले देशको प्रगति रोक्ने हतियारका रुपमा रहेको भ्रष्टाचार तितरवितर गर्ने सरकारको काम स्वागत योग्य रहेको समेत उल्लेख गरेर ।
वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुले मुलुकका लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा विरोध गर्नु गलत भएको बताए ।

“भ्रष्टाचारलाई विगतदेखि नै जटिल बनाउँदै कसैले पनि ‘एक्सन’ गर्न नसक्ने बनाइएको थियो, वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारीलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा नेपालको प्रगति नै रोक्ने भ्रष्टाचार तितरवितर गराएको अवस्थामा किन विरोध भइरहन्छ”, उनले भने । उहाँनले ‘वर्तमान सरकारले सुन तस्करलाई खोजेर पक्राउ गरेको छ, न्यायाधीशलाई कारवाही गरेको छ र प्रहरीका अधिकारीलाई जेलमा हालेको छ, अख्तियारका प्रमुख नै भ्रष्टाचारमा मुछिएका छन् । मन्त्री, सचिव र उद्योगपति कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्दा लाग्दा सरकारले गजब गरेको भन्नुपर्ने हैन र’ भन्दै प्रश्न गरे ।
उनले भने, “कारवाही नगरे खै कारवाही गरेको भन्छन्, कारवाही ग¥यो किन गरेको भन्छन्, फौजदारी अपराधमा मनसाय महत्वपूर्ण कुरा हो मनसाय छ कि छैन त्यो हेर्नुप¥यो नि । दुई–तीन तहपछि जग्गा किनेको मान्छेलाई के थाहा । अब अदालतले एकएक केलाएर मुद्दा हेर्ने भएकाले विरोधको कुनै तुक छैन ।”
सांसद बद्रीप्रसाद पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपक्षीय निर्णय गरेको आरोप लागाउँदै सरकार जोगिने र प्रतिपक्ष जेल जाने हुन नसक्ने बताउनुभयो । अख्तियार आयोग सरकारको छायाँ हुन नहुने उहाँको भनाइ थियो । सांसद जीवन बुढाले देशका विभिन्न स्थानमा टिपर आतङ्क बढ्दै गएको भन्दै त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद कालीबहादुर मल्लले लागुऔषधका कारण युवापुस्ता गलत बाटोमा लागेको भन्दै त्यसलाई रोक्नुपर्छ भने । सांसदहरू रामलखन चमार, रामप्रीत पासवान र उदयादेवी शर्मा पौडेलले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत र महङ्गीलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।








