बजार व्यवस्थापन कार्यविधिसहित बिभिन्न प्रस्ताव पारित

माघ २९, चितवन । रत्ननगर नगरपालिकाको छैठाैँ नगर सभाले तीन वटा कार्यविधिसहित बिभिन्न प्रस्ताव पारित गरेको छ । नगरपालिकाको बुधवार सम्पन्न नगर सभाले बजार व्यवस्थापन कार्यविधि, टोल विकास संस्था संचालन कार्यविधि र नगर प्रमुख उद्यमशीलता प्रर्वधन कोष संचालन कार्यविधि पारित गरेको नगर प्रमुख नारायण वनले बताए ।
नगर प्रमुख वनको अध्यक्षतामा भएको सभामा विद्यायन समितिका संयोजक तीलकराज शर्मा पौडेलले कार्यविधि छलफलका लागि पेश गरेकोमा सवै कार्यविधि सर्वसम्मत पारित भएको थियो । त्यस्तै विधायन समिति संयोजक पौडेलबाट स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण सम्वन्धी निर्देशिका समेत सभामा पेश भएको थियो ।
सभामा नगर उपप्रमुख विमला दुवाडीले करको दर छुट र आर्थिक वर्ष २०७६/७७ को राजस्व, बजेट तथा कार्यक्रमको प्रगति विवरण पेश गरेकी थिईन् । पूर्वाधार विकास समिति संयोजक एवंम् रत्ननगर १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठले योजना तथा कार्यक्रमको रकमान्तर/शीर्षकान्तर प्रस्तुत गरेका थिए ।

बिभिन्न वडागत ७१ वटा योजना तथा कार्यक्रमलाई वजेटमा हेरफेर नहुने गरि शीर्षकान्तर गरि ७९ वटा पुर्याईएको छ । वडा नम्वर ३ ,१०,१३ र १६ वाहेक अन्य वडाहरुले योजना शीर्षकान्तर गरेका पूर्वाधार समिति संयोजक श्रेष्ठले बताए ।








