बालक अपहरणको अभियोगमा मामासहित २ पक्राउ

माघ १०, बारा । १० वर्षीय बालकलाई अपरहण गरेको अभियोगमा बालककै मामासहित २ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका-१४ गण्डक बहुअरी बस्ने रमेश राम र बालककै मामा बारा प्रसौनी गाउँपालिका ५ प्रष्टोका बस्ने राजु राम रहेका छन् ।
गत शुक्रबार सरस्वती पूजाको बिसर्जन गर्न गएका बेला अपहरण परेका ती बालकलाई भने कलैया उपमहानगरपालिका -२४ श्रीपुरस्थित सडकबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।

सरस्वती बिसर्जन गर्न ती बालक नआएपछी बालकको परिवारजनले परिवारलाई खबर गरेका थिए । खबरपाए लगतै उनको खोजीकार्यमा खटिएका प्रहरीले रमेश रामले अपहरणमा परेकाे उक्त बालकलाई मुख्य योजनाकार राजुलाई बुझाउन लाँदै गरेको अवस्थामा फेला पारेको थियो । रमेश रामलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा अपहरणमा उनकै मामा राजुको हात रहेको खुल्न आएको थियो । राजु रामले बालक अपहरण गर्न रमेश रामलाई ५० हजार रुपैयाँ दिन्छु भनेपछी रमेश राम अपहरण गर्न तयार भएका थिए ।
पक्राउ परेका दुबैमाथी अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








