पूर्वउपप्रधानमन्त्री गच्छदारलाई १३ वर्ष जेल सजाय माग (कसलाई कति सजाय मागियो)

माघ २३, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनालाई १३ वर्ष जेल सजाय माग दावि गरेको छ ।हिजो पूर्वउपप्रधानमन्त्री सहित १७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्दै आयोगले ६ जना विरुद्ध भने १३ वर्ष जेल सजायको माग दावि गरेको हो ।
आयोगले ललिता निवास सरकारी जग्गा प्रकरणमा मुख्य आरोपित ठहर गर्दै पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी, तत्कालिन भूमिसुधार सचिव छविराज पन्त, तत्कालिन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, तत्कालिन भौतिकपूर्वधार सचिव दीप बस्न्यात र तत्कालिन भूमिसुधार सचिव दिनेशहरि अधिकारीलाई १३/१३ वर्ष जेल सजाय माग गरेको छ ।
अन्यलाई दुई वर्ष जेल सजाय माग गरिएको छ ।

पूर्वउपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री नेपाली कांग्रेसका संसदीय दलका उपनेता समेत रहेका गच्छदारलाई अख्तियारले नौ करोड ६५ लाख ७६ हजार विगो माग दावि गरेको छ । अर्का पूर्वमन्त्री डम्बर श्रेष्ठलाई नौ करोड ६५ लख ७६ हजार नै बिगो मागिएको छ । पूर्वमन्त्री चन्द्रदेव जोशीलाई सात करोड आठ लाख ४८ हजार विगो मागिएको छ । भने, तत्कालिन भूमिसुधार सचिव छविराज पन्तलाई ९ करोड ६५ लाख ७६ हजार विगो कायम गरिएको छ ।
यता सोहि प्रकरणमा तत्कालिन भौतिक पूर्वाधार सचिव दीप बस्न्यातलाई पनि नौ करोड ६५ लाख ७६ हजार नै विगो माग दावि गरिएको छ । तत्कालिन भूमिसुधार सचिव दिनेशहरि अधिकारीलाई सात करोड आठ लाख ४८ हजार विगो माग गरिएको अख्तियारले जनाएको छ ।
यसैगरी ललिता निवास जग्गा प्रकरणमा जोडिएका रामकुमार सुवेदीलाई ५२ करोड ५१ लाख ४० हजार विगो र २ वर्ष जेल सजाय माग गरिएको छ । अर्का आरोपित शोभाकान्त ढकाललाई ३९ करोड २७ लाख ६८ हजार विगो माग गरी २ वर्ष जेल सजाय माग गरिएको छ । भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई ३९ करोड २७ लाख ३९ हजार नै विगो माग गरिएको छ । उनलाई पनि २ वर्ष जेल सजाय माग गरिएको छ ।








