नेकपाको कार्यदलद्वारा एमसीसी प्रतिवेदन तयार, अध्यक्षद्वयलाई आजै बुझाउँदै

फागुन ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसीसी)को अध्ययन गर्न गठित कार्यदलले शुक्रबार आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयसमक्ष बुझाउने भएको छ । कार्यदलको आज नेकपाको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन  बुझाउने निर्णय गरेको कार्यदलका सदस्य भीमबहादुर रावलले जानकारी दिए ।   

 ‘‘कार्यदलको तर्फबाट एमसिसीको अनुदान सहायताको सम्बन्धमा जुन उद्देश्यका साथ हामी काम गरेका थियौँ, त्यसलाई सम्पन्न गरेका छौं ’’, उनले भने, ‘‘ हामीले सरकार र एमसिसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेका छौँ । यो प्रतिवेदनलाई हामी आज बुझाउँछौँ ।’’ 

उनले प्रतिवेदन पार्टीलाई बुझाएपछि एमसिसीका सम्बन्धमा के निर्णय गर्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गर्ने जानकारी दिए । उनले  पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि आवश्यक निर्णय केन्द्रीय कमिटी बैठकले गरेअनुसार हुने बताए ।   

उनले प्रतिवेदन पार्टी अध्यक्षसमक्ष प्रस्तुत गरेपछि मात्र प्रतिवेदनमा उल्लेख गरिएका कुराबारे जानकारी गराइने स्पष्ट गरे । पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।   

दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाई थप दश दिन माग गरेको थियो । कार्यदलको गत माघ २९ गते नै कार्यदलको समय सकिएको थियो । पछि नेकपाले थप दश दिनको समय थपेको थियो  । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *