पूर्वउपप्रधानमन्त्री गच्छदारलाई १३ वर्ष कैद सजाय माग, लसुनकाे मुल्य तीन गुणा बढ्याे

माघ २३, काठमाडौं । आज राजधानीबाट प्रकाशित सबै जसो पत्रपत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री सहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेको समाचार मुख्य समाचारका रुपमा प्रकाशित गरेका छन् ।   

कान्तिपुर दैनिक, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट, नागरिक दैनिक, राजधानी दैनिक, नेपाल समाचारपत्र तथा सरकारी मुखपत्र गोरखापत्रले पनि ललिता निवास जग्गा प्रकरणको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।   

आजको कान्तिपुरले १ सय १० विरुद्ध भ्रष्टाचार मुद्दा शिर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । भने, सोहि प्रकरणमा मुछिएका नेपाली कांग्रेसका संसदीय दलका उपनेता समेत रहेका विजयकुमार गच्छदारको राजनीतिक यात्रामा धक्का लागेको शिर्षकमा समाचार प्रकाशित गरेको छ ।   

२०४६ सालको बहुदलिय प्रजातन्त्र स्थापना पछि पटकपटक सत्तामा पुगेका गच्छदारको राजनीतिको अवसान भएको उल्लेख छ । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सांसद समेत रहेका गच्छदार ललितानिवास प्रकरणका ठूला माछा भएको अख्तियारको विष्लेशण छ । आजको नागरिक दैनिकले दशककै हाइप्रोफाइल भ्रष्टाचार काण्ड भन्दै ललिता निवास जग्गा प्रकरणकै समाचार मुख्य समाचार बनाएको छ । सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप वस्नेतलाई पनि मुद्दा दायर गरेको छ ।   

अख्तियारले मुद्दामा पूर्वप्रमुख आयुक्त तथा तत्कालीन भौतिक पूर्वाधार सचिव बस्न्यात, तत्कालीन भौतिक पूर्वाधार मन्त्री गच्छदार, तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र तत्कालीन भूमिसुधार सचिव छविलाल पन्त, हाल जिल्ला न्यायाधीश रहेका तत्कालीन कानुन उपसचिव विनोदकुमार गौतममाथि ९ करोड ६५ लाख विगो मागदाबी गरेको छ । 

त्यस्तै पूर्व भूमिसुधार सचिव दिनेशहरि अधिकारी माथि ७ करोड ८ लाख, तत्कालीन मन्त्री चन्द्रदेव जोशीमाथि पनि ७ करोड ८ लाख विगो मागदावी गरिएको छ । अख्तियारले मुद्दा दायर गरेका १७५ जनामध्ये ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । ५० जना कुनै न कुनै समयका जग्गाधनी हुन् । ३२ जना मोही तथा हकदार हुन् भने ६० जना सार्वजनिक पदमा भएका व्यक्तिहरु हुन् । 

गोरखापत्रले पनि आज ललिता निवास जग्गा प्रकरणकै समाचार प्रकाशित गरेको छ । भने, बाजुराको छाउगोठ सम्बन्धी फिचर छ । निसास्सिने, अँध्यारो र खुट्टासमेत पसार्न नमिल्ने सानो छाउगोठमा बस्दै आएका महिला अब महिनावारीका बेला पनि आफ्नै घरमा आरामसाथ बस्न थालेका छन् । सरकारले असुरक्षित छाउगोठ भत्काएपछि महिला महिनावारीका बेला बस्न घरमै ठाउँ तयार पार्न थालेका हुन् । घरमै बस्न पाउने भएपछि महिलामा खुसी छाएको छ । 

एक महिना अघिसम्म बूढीगङ्गा नगरपालिका–८, रिठाबजारकी पवित्रा कुँवर महिनावारीका बेला घरमा बस्न पाउनु हुन्थेन । आँगन छेवैमा रहेको साँघुरो छाउगोठमा असजिलो गरी बस्नुपथ्र्याे । केही दिनअघि स्थानीय जनप्रतिनिधि र प्रहरी आएर सम्झाई बुझाई उहाँ बस्ने छाउगोठ भत्काए । त्यसपछि उहाँ महिनावारीका बेला पहिलोपटक छाउगोठबाट घरमा सर्नुभयो । 

“म सधैँ यही कोठामा सुत्थेँ,” घरको तल्लो तलामा रहेको एउटा कोठाभित्रको खाट देखाउँदै उहाँले भन्नुभयो, “सरकारले छाउगोठ भत्काएपछि आफ्नै कोठामा सुतेँ ।” घरनजिकैको धामीले पनि देउता र भान्छा नछोई सरसफाइ गरी घरमै बस्न सल्लाह दिएको उहाँले बताउनुभयो । घरमै सुत्ने अनुमति पाए पनि उहाँको कोठाबाट चोटामा जाने लिस्नो भने झिकिएको छ । आजको गोरखापत्रमा फिचर प्रकाशित छ ।   

नयाँ पत्रिकाले पनि ललिता निवास प्रकरणलाई नै हाइलाइट गरेको छ । हाइप्रोफाइल भ्रष्टाचार मुद्दा शिर्षकमा प्रकाशित समाचार अनुसार पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १३ वर्षको जेल सजाय माग दावि गरिएको छ ।   

गच्छदार यसअघि १२ पटक मन्त्री भइसकेका छन् । अख्तियारले मुद्दा दायर गरेसँगै उनको सांसद पद पनि निलम्बनमा परेको छ । अख्तियारले चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतमविरुद्ध पनि मुद्दा दायर गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत रहेको वेला उनी यो प्रकरणमा संलग्न थिए । ०६६ मा उनी मन्त्रालयको कानुन शाखाको प्रमुखका रूपमा कार्यरत थिए । त्यतिवेला मन्त्रालयले प्रधानमन्त्रीनिवास विस्तारको नाममा मोहीलाई जग्गा दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । दीप बस्न्यात मन्त्रालयका सचिव र विजयकुमार गच्छदार मन्त्री थिए । 

उनीहरूकै योजनाअनुसार नक्कली मोही खडा गरी प्रधानमन्त्रीनिवाससँग जोडिएको करिब १५ रोपनी जग्गा हिनामिना भएको थियो । त्यससम्बन्धी प्रस्ताव अघि बढाउने गलत राय गौतमले दिएकाले उनको समेत मिलेमतो रहेको अख्तियारको ठहर छ । मालपोत, नापी, गुठी र समरजंग कम्पनीका कर्मचारीको मिलेमतोमा जग्गा हिनामिना भएको निष्कर्ष अख्तियारको छ । जग्गा बकस लिने कर्मचारीका आफन्त पनि मुद्दामा तानिएका छन् । 

राजधानी दैनिकले ललिता प्रकरणसँगै लसुनकाे मुल्य तीनगुणा बढेकाे समाचार प्रकाशित गरेकाे छ । समाचार अनुसार पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो । 

चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनकोे मूल्य ह्वात्तै बढेको छ । नेपाल लसुनमा आत्मर्निभर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट लसुन आयात गर्दै आएका छन् । नेपालमा करिब ८० प्रतिशत लसुन चीनबाट आयात हुँदै आएको छ । चीनसँग सीमा जोडिएको रसुवागढी (केरुङ ) र तातोपानी (खासा) नाका बन्द भएकाले विगत एक सातादेखि लसुनको आयातमा कमी आएको छ । पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ ।  

समितिका प्रवक्ता विनय श्रेष्ठले चीनसँग जोडिएको नेपालको भन्सार नाका बन्द भएपछि लसुन आयातमा कमी आएको बताए । बजारको मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा र आयातसमेत बन्द हुँदा लसुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको उनले बताए । प्रवक्ता श्रेष्ठका अनुसार कालिमाटी बजारमा औसतमा दैनिक ४–५ टन आयात हुने लसुन विगत चार दिनयता आयात भएको छैन । समितिका अनुसार पुसमा चीनबाट २ सय ५० टन चिनियाँ लसुन आयात गरिएकामा माघमा ९८ टन मात्र आयात भएको छ । गत सातादेखि आयात नै ठप्प भएकाले यसले बजारमा थप प्रभाव पार्न सक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । उनले आयात प्रभावित भए यो मूल्य अझै बढ्न सक्ने बताए ।  

पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो । 

हेर्नुहोस आजका पत्रपत्रिकाका फ्रन्टपेज 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *