निमोनिया देखिए कोरोनाको शंका गर्नुपर्ने अवस्था छ: डा. कोइराला

माघ २६, काठमाडौं । चीनमा गएको डिसेम्बरदेखि फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण माहामारीको रुपमा फैलिरहेको छ ।   

चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार शनिबारसम्म मात्रै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ  । चीनमा ८ सय १, हङकङमा एक र फिलिपिन्समा एक जनाको मृत्य भएको हो ।   

चीनमा भाइरसका कारण मृत्यु हुनेमा २ जना विदेशी नागरिक पनि रहेका छन् । अमेरिका र जापानले आफ्ना नागरिकको चीनमा उक्त भाइरसका कारण ज्यान गएको पुष्टि गरिसकेको छ । शनिबारसम्ममा ३४ हजार ८ सय जनामा कोरोनाको संक्रमण भेटिएको छ । त्यस्तै थप २ हजार ६ सय ५६ जना नयाँ संक्रमणका बिरामी फेला परेका छन् ।   

यसअघि नै विश्व स्वास्थ्य संगठनले चीन उच्च जोखिममा रहेको र नेपाल लगायतका विभिन्न देशमा पनि कारोनाको संक्रमण फैलन सक्ने भन्दै स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ ।   

विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण अवधि २ देखि १४ दिनसम्मको हुने र यो बीचमा कोरोना भाइरस जुनसुकै बेला विकसित हुन सक्ने भन्दै ‘चीनबाट फर्किएकाहरूलाई अनिवार्य रूपमा २ साता क्वारेण्टाइनमा राख्नुपर्छ’ भनेर स्पष्ट मापदण्ड बनाएको छ ।   

कोरोनाको सन्त्रासले संगठनको मापदण्ड बमोजिम विश्वका विभिन्न देशहरुले आफ्नो देशका नागरिकहरुलाई क्वारेण्टाइनमा राखिसकेका छन् ।   

नेपालमा पनि एक/दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । तर सरकारले नेपालमा संक्रमणको जोखिम नरहेको र आत्तिनु नपर्ने अभिव्यक्ति दिइरहेको छ । यद्यपी चिकित्सकहरु भने नेपालमा पनि जोखिम रहेको र नेपालीहरु सतर्क रहनुपर्ने बताउँछन् ।   

मानिसबाटै–मानिसमा सर्ने हुँदा कोरोनाको सतर्कता अपनाउनुपर्ने विराट मेडिकल कलेजका डा. पुरु कोइरालाले बताए । ‘विश्व स्वास्थ्य संगठनले नै संसारभर सतर्कता अपनाउन जरुरी छ, भनेको छ । यो मानिसमा मानिसबाटै सर्ने हुँदा हामीले सतर्कता अपनाउनुपर्छ’, उनले भने ।   

रुघाखोकी लागेका मान्छेहरुको र्याल, सिंगानबाट कोरोना सर्ने सम्भावना बढी देखिने उनको भनाइ छ ।   

कसरी रहने सतर्क ?  

भीडभाडबाट टाढै रहने ।   

जथाभावी हात नमिलाउने ।   

रुघा, खोकी लागेका व्यक्तिको नजिक नजाने ।   

जे पायो त्यही नछुने । हात धुने ।   

अंकमाल नगर्ने । अनिवार्य मास्क लगाउने ।   

लक्षण ? 

सामान्य रुघा, सुख्खा खोकी पनि कोरोनाको लक्षण हुन सक्छ ।   

सामान्य घाँटी दुख्ने, घाँटी बिझाउने । 

निमोनियाको संक्रमण देखिने । 

ज्वरो आउने ।   

श्वासप्रश्वासमा समस्या देखिने । 

सतर्कताका लागि चिकित्सकले सामान्य निमोनियाका बिरामीहरुमा पनि कारोनाको आशंका गर्नुपर्ने डा. कोइराला बताउँछन् । ‘अगाडी कोरोनाको कुनै लक्षण देखा नपरी सिधै निमोनिया पनि हुन सक्छ । चिकित्सकले पनि यसमा सावधानी अपनाउनुपर्ने देखिन्छ’, उनले भने ।   

नेपालमा जोखिम ?   

नेपालमा एक जनामा संक्रमण भएको पुष्टि भइसकेको छ । पूर्वाञ्चलमा पनि कोरोनाको एक/दुई वटा केशहरु देखिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि शंकास्पद बिरामीहरु देखिएको डा. कोइरालाले जानकारी दिए । यद्यपी कोरोना हो या होइन पुष्टि भइनसकेको उनको भनाइ छ ।   

‘कोरोना भाइरस त देखिएको छैन तर जो बिरामीलाई रुघाखोकी, निमोनिया छ, अथवा कहिल्यै निमोनिया नभएको मान्छेलाई अहिले निमोनिया देखियो भने कोरोनाको आशंका गर्नुपर्ने अवस्था छ । किनकी पछि दुर्घटना हुनुभन्दा पहिल्यै हामी सतर्क भयौँ भने जोखिम टर्छ’– उनले बताए ।   

त्यस्तो शंकास्पद देखिएमा अस्पतालले बिरामीलाई आइसुलेट अर्थात् छुट्टै कोठा या वार्डमा अन्य बिरामीबाट अलग्गै राखि निरीक्षण गर्नुपर्ने उनी बताउँछन् ।   

सरकारले आत्तिनु पर्दैन भनेतापनि हामी आफैँ सतर्क हुनुपर्ने डा. कोइरालाले बताए ।   

‘नेपालका अस्पतालहरुको निरीक्षण गर्ने हो भने अधिकांश अस्पतालहरुले सावधानी अपनाएको देखिँदैन । हामीसँग पर्याप्त साधन, मेशिनरीहरु पनि छैनन् अर्को त हामी पूर्व तयारी पनि गर्दैनौँ । यो हाम्रो देशको स्वास्थ्य क्षेत्रको कमजोरी हो । हामी आफैँ सतर्क रहनुपर्छ’, उनले भने ।   

कोरोनाका लागि पूर्व तयारी स्वरुप अस्पतालै पिच्छे एउटा छुट्टै टिम बनाउनुपर्ने र उक्त टिम २४ घण्टै तयारी अवस्थामा रहनुपर्ने उनी बताउँछन् । यस्तो भएमा कोरोना तथा यसको संक्रमणको शंकास्पद कोही बिरामी आएमा तत्काल छुट्टै उपचार दिन सकिने उनको भनाई छ ।   

माछामासु खानै नहुने भन्ने भ्रम मात्रै भएको पनि डा. कोइरालाले बताए । ‘हामी चिनियाँहरुले जस्तो काँचो मासु खाँदैनौँ । पकाएर खाने हो । कोरोनाका कारण मासु नै खान नहुने, मासु खादा भाइरसको संक्रमण देखिने भन्ने भ्रम मात्रै हो । नेपालमा जीवजन्तुबाट भन्दा पनि मान्छे मान्छेबाट सर्ने सम्भावना छ । पानी, सागसब्जी, फलफुल प्रशस्त खाने गर्नुपर्छ’, उनले भने ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =