यती होल्डिङ्सबारे श्वेत पत्र जारि गर्न नेकपा सांसद पाण्डेको माग

माघ २९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद विन्दा पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी कोही नछुट्ने र कोही निर्दोष नपर्ने गरी न्यायिक निरुपण गराउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधिसभाका बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद पाण्डेले नेपाल एयरलाइन्सको ‘वाइड बडी’ खरिद, तारागाउँको सरकारी जग्गा दुरुपयोग र नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको तत्काल अनुसन्धान गर्न आग्रह गरिन् । उनले यति ‘होल्डिङ’को जग्गा विवाद प्रकरणमा श्वेतपत्र जारी गरी यथार्थ जानकारी गराउन माग गररिन ।
सांसद पाण्डेले भनिन्, ‘दैनिक जसो समाचार बनिरहेको यति होल्डिङ्सको बारेमा श्वेतपत्र जारी गरी वास्तविकता केहो भन्ने बारेमा आम नागरिकलाई जानकारी गराउन नेपाल सरकारसँग माग गर्दछु ।’
सांसद पाण्डेले ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सञ्चार जगतलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।








