भण्डारा डेरीको चुनाव भोलीः पाठकको उमेदवारी फिर्ता, थपलियालाई राहत

माघ २४, चितवन । राप्ती नगरपालिका ५ मा रहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा उमेदवारी दिएका थलराज पाठकले उमेदवारी फिर्ता लिएका छन् । निर्वाचन भोली माघ २५ गते शनिबार हुँदैछ ।
नेपाल कम्युनिष्ट पार्टीनिकट मानिने पाठकले नेकपाकै नेताहरुको पहलमा आफ्नो उमेदवारी कायम नरहेको र नेकपाका आधिकारिक उमेदवार डिल्ली प्रसाद थपलियालाई समर्थन गरेको लिखित सहमति दिएका हुन । नेकपा राप्तीका नगर इन्चार्ज इमानसिहं लामाले पाठकले उमेदवारी कायम नरहेको लिखित पत्र दिइसकेको बताए । उनका अनुसार नेकपा पार्टी कमिटी र निर्वाचन कमिटि समक्ष पाठकले आफ्नो उमेदवारी नरहेको जानकारी गराइसकेका छन । पाठकले किसान मतदातालाई सम्बोधन गर्दै नेकपाका आधिकारिक उमेदवार डिल्ली प्रसाद थपलियालाई मत प्रदान गर्न अपिल गरिएको पत्र समेत बुझाएका छन ।
यसबारेमा पाठकले प्रतिक्रिया दिन मानेनन् ।पाठक अहिले उपचारका लागि भन्दै काठमडाैँ छन । यता निर्वाचन समितिका संयोजक शैलेन्द्र भण्डारीले भने उमेदवारहरुले चुनाव चिन्ह लिइसकेपछि उमेदवारी फिर्ता नहुने भएपनि सहमतीमा पछि हट्न सकिने बताए । उनले उमेदवारले अन्य कसैलाई समर्थन गर्न चाहे सहमतीमा आफु पछि हटेर अरुका लागि मत माग्न सकिने बताए ।

पाठकले उमेदवारी फिर्ता लिएसँगै नेकपाका आधिकारिक उमेदवार डिल्ली प्रसाद थपलियालाई सहज हुने भएको छ । नेकपा निकट मानिने पाठकले नेकपा प्यानलको केहि मत काट्ने अनुमान गरिएको थियो । तर उमेदवारी फिर्तासँगै नेकपा एकजुट भएको र जित सहज रहेको नेकपा राप्ती ४ का अध्यक्ष शमशेर लामाले बताए । पाठकको उमेदवारी नरहेसँगै अध्यक्षका लागि थपलिया, विश्वकान्त रुवाली र तिर्थराज पाण्डेको उमेदवारी कायम रहेको छ । रुवाली नेपाली काँग्रेसको समर्थनमा प्यानल नै बनाएर चुनावी मैदानमा छन भने स्वतन्त्र उमेद्वार पाण्डे पनि भोट माग्न सक्रिय छन ।
किसानहरु भने थपलिया प्यानलको जित निश्चित रहेको बताउँछन । यसअघि समेत सहकारीको अध्यक्ष रहिसकेको थपलियाले किसान र उपभोक्ताको हितमा गरेको विभिन्न कामहरुले किसान उनकै पक्षमा रहको उनीहरुको भनाई छ ।
थपलियासँगै नेकपा समर्थित सबै उमेदवारहरुले आफ्नो जित निश्चित रहेको दाबी गरेका छन । नेकपा प्यानलबाट अध्यक्षमा डिल्ली प्रसाद थपलिया, उपाध्यक्षमा राजेन्द्र प्रसाद तिमिल्सिना, सचिवमा रामचन्द्र हुमागाई, सहसचिवमा प्रकाश कुमार सेढाईं, कोषाध्यक्षमा सुवास सिलवाल उमेदवार छन ।








