बुढासुब्बा गोल्डकपको २२ औं संस्करण फागुन १० देखि, भिएआर प्रयाेग हुने

माघ २३, धरान । मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिता अन्तराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको २२ औं संस्करण यहि फागुन १० देखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले आज बिहीबार पत्रकार सम्मेलन गर्दै २२ औं संस्करणको बुढासुब्बा गोल्डकपको मिति सार्वजनिक गरेको हो ।
प्रतियोगितामा पहिलो पटक भिएआर अर्थात भिडियो असिस्टेन्ट रेफ्रिको प्रयोग हुने छ । प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउन भिएआर प्रयोग गरिन लागिएको हो । प्रतियोगितामा स्वदेशी र विदेशी गरी ८ वटा टिमहरुको सहभागीता रहनेछ । आयोजक धरान फुटवल क्लबका अध्यक्ष किशोर राईले २२ औ संस्करणको बुढासुब्बा गोल्डकप प्रतियोगिताको तयारी धमाधम भइरहेको जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बूढासुब्बा गोल्डकप प्रतियोगितालाई ‘क’ श्रेणीमा राखेसँगै पुरस्कारको राशिमा समेत भारी बृद्धि गरिएको छ । क्लबले यस पटक प्रतियोगिताका विजेतालाई रु १० लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । प्रतियोगिताको उपविजेताले पनि नगद रु ५ लाख प्राप्त गर्नेछन् । गत संस्करणमा विजेताले रु ८ लाख नगद पुरस्कार प्राप्त गरेका थिए । उपविजेतालाई रु ४ लाख दिइएको थियो ।

यस पटकको प्रतियोगितामा बुढासुब्बा गोल्डकपको सर्वाधिक विजेता मध्येका मनाङ मस्र्याग्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लबको सहभागीता हुनेछ । यसका अलावा विदेशी टिममा यूके एफसी भारत, जापान फुटबल लिग टिमको सहभागिता रहने क्लबका अध्यक्ष किशोर राईले बताए । यसैगरी बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभित्ता र आयोजक धरान फुटबल क्लबको सहभागीता रहने छ ।
मुख्य प्रायोजक परिवर्तन
बुढासुब्बा गोल्डकप प्रतियोगिताको २१ औं संस्करणसम्म नियमित रुपमा मुख्य प्रायोजक रहेको रेडवुलको स्थानमा अब टुवर्ग वियरले प्रायोजन गर्ने भएको छ । नेपालमा रेडबुलको आयात बन्द भएकोले रेडबुलको स्थानमा टुवर्ग वियरलाई मुख्य प्रायोजकको रुपमा जिबी मार्केटिङले राखेको हो ।
७४ लाख ५५ हजारको अनुमानित लागत रहेको प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई पनि जनही नगद २५ हजार पुरस्कार दिइने छ । प्रतियोगिताका सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा अहिलेसम्म प्रतियोगितालाई प्रायोजन गर्ने गोर्खा बु्रअरीका प्रदेश १ इन्चार्ज प्रदीप अधिकारी र काब्रा ग्रुपका बजार प्रतिनिधी अर्जुन घिमिरेलाई सम्मान गरिएको छ ।








