प्रधानाध्यापकविरुद्ध तीन मुद्दा, करिब १६ लाख रुपैंया भ्रष्टाचार गरेको आरोप

फागुन ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखा नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध छुट्टाछुट्टै तीन अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले फरक फरक मितिमा विभिन्न शीर्षकमा १५ लाख ९५ हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

तत्कालिन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्स शीर्षकको २ लाख ५० हजार र मर्मत शीर्षकको १ लाख गरी जम्मा ३ लाख ५० हजार रुपैयाँ कुनैपनि काम नगरी प्रधानाध्यापक साहले हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ 

त्यस्तै सोही कार्यालयबाट पुस्तकालय व्यवस्थापन र किताब खरिद शीर्षकमा निकासा भएको ६ लाख ५० हजार रुपैयाँ लिएर साहले कुनै काम नगरी रकम हिनामिना गरेको दाबीसहित उनीविरुद्ध अख्तियारले अर्को मुद्दा दायर गरेको हो ।   

त्यस्तै प्रधानाध्यापक साहले विभिन्न शीर्षकमा ५ लाख ९५ हजार ४ सय रुपैयाँ गलत कागजात बनाई भ्रष्टाचार गरेको भन्दै उनीमाथि अर्को पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

यसैबीच अख्तियारले शिक्षा विकास तथा समन्वय इकाइका सवइन्जिनियर विकास झाविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

प्रधानाध्यपक साहसँग मिलेर झाले छात्रा शौचालय तथा फर्निचर निर्माण शीर्षकमा झुटो प्रतिवेदन तथा नापी किताब तयार पारेको आरोप अख्तियारले लगाएको छ । 

अनुसन्धानको क्रममा झाले झुटो प्रतिवेदन तयार गरी ३ लाख ५० हजार रुपैयाँ हिनामिना गर्न सहयोग गरेको देखिन आएकोले उनीविरुद्ध उक्त रकम माग दाबीसहित मुद्दा दायर गरिएको कोइरालाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *