महरा ‘निर्दोष’, दिल्लीबाट उड्न ‘इन्ट्री परमिट’ अनिवार्य, बाक्लिँदै सैन्य अधिकारीहरूको नेपाल भ्रमण

फागुन ६, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पूर्वसभामुख कृष्णहादुर महराले पाएको सफाइको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाइ दिएको समाचार आजको अन्नपूर्णमा छ । 

३० दिन प्रहरी हिरासत र १०३ दिन सदरखोरमा थुनिएका उनी उक्त फैसलासँगै रिहा भएका छन् । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयास पुष्टि हुने आधार नदेखिएको भन्दै अभियोग दाबीबाट सफाइ पाउने फैसला सुनाएको हो । 

पीडित भनिएकी महिला कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास नभएको जिकिरसहित अदालतमा गरेको वकपत्र, महराले दिएको इन्कारी बयान र फरेन्सिक ल्याबको रिपोर्टलाई आधार मानेर इजलासले सफाइ दिएको हो। जिल्लाले सफाइ दिँदा प्रमाणको ठोस मूल्यांकन नगरेको बताउँदै महरालाई जेलसजाय मागसहित सरकारी वकिल पुनः उच्च अदालतमा जाने भएका छन्। महराले आफू शाहीको कोठाभित्र नपसेको तर कोठाको आसपास पुगेर फर्केको बयान अदालतमा दिएका थिए। पीडितले महरा आफ्नो डेरा–कोठामा जाँदै नगएको तथा औंठाछाप नमिलेको भन्ने विषयलाई अदालतले सफाइको आधार बनाएको छ। 

समाचार अनुसार प्रहरी र अदालतमा दिएको बयानमा महराले पीडितको इलाकामा गएको तर फोनसम्पर्क नभएपछि कोठाबाट फर्किएको बताएका थिए। ‘प्रतिवादीको तत्काल अनुसन्धानका क्रममा भएको बयान र यस अदालतमा जाहेरवाली पीडितले गरिदिएको वकपत्र, प्रतिवादीको इन्कारी बयानलाई पुष्टि गर्दै यी प्रतिवादी बारदातको दिन आफ्नो डेरा–कोठामा आउँदै नआएको र प्रतिवादीले कुटपिटलगायत अभियोग दाबीबमोजिम कसुर नगरेको भनी स्पष्ट रूपमा खुलाइदिएको,’ अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले संक्षिप्त फैसला वाचन गर्दै भने, ‘साथै औंठाको छाप जाँच गर्ने विशेषज्ञको प्रतिवेदन र वकपत्र, परीक्षणका लागि पठाइएको गिलास, चस्मासमेतमा रहेको औंठाको छाप प्रतिवादीको औंठाको छापसँग तुलनात्मक रूपमा विश्लेषण गर्न नपाइएको भन्नेसमेतका आधारमा अभियोग दाबीबमोजिम कसुर गरेको स्थापित हुन नआएको कारणबाट प्रतिवादीले अभियोगदाबीबाट सफाइ पाउने ठहर्छ।’ 

अदालतले घटना हुने दिन महराले रक्सी पिएको भनिएको गिलास र उनले प्रयोग गर्ने चस्मामा भएको औंठाछापको नमुनासमेत ‘म्याच’ नगरेको जनाएको छ। प्रहरीमा जाहेरी दिने बेला शाहीले भाँच्चिएको चस्मा र जुत्ताको तलुवा महराकै भएको दाबी गरेकी थिइन् ।   

कान्तिपुरले दिल्लीबाट उड्न ‘इन्ट्री परमिट’ अनिवार्य शीर्षको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ । परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउनेु नियम अनिवार्य गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ । 

यो सूचनापछि परोक्ष रूपमा नेपाल–भारतका नागरिकले हवाईमार्ग हुँदै एकअर्को देशमा आवतजावत गर्न नागरिकता वा अन्य प्रामाणिक पहिचानपत्र प्रयोग गर्न पनि नसक्ने भएका छन् । ‘नागरिकतामा एराइभल वा डिपार्चर स्टाम्प लगाउन असम्भव रहेको र यसबारेको रेकर्ड पद्धतिसमेत प्रभावकारी नभएका कारण अब आवागमनमा पासपोर्ट प्रयोगका लागि यात्रुलाई प्रोत्साहित गरिनेछ अध्यागमन विभागका एक अधिकारीले भने ।’ समाचारमा छ ।   

बंगलादेशका सेनाध्यक्ष अजिज अहम्मदले २४ देखि २८ माघमा नेपाल भ्रमण गरेलगत्तै बेलायतका सेनाध्यक्ष मार्क काल्र्टन स्मिथ शनिबारदेखि नेपालको औपचारिक भ्रमणमा रहेको समाचार नयाँ पत्रिकामा छ । एक वर्षअघि बेलायतका रक्षामन्त्री मार्क ल्यान्चास्टरको भ्रमण भएको थियो भने बंगलादेशबाट पनि रक्षा राज्यमन्त्री मोहम्मद एनामुर रहमानले भ्रमण गरिसकेका छन् । बेलायत र अमेरिकाबाट उच्च राजनीतिक तहको भ्रमण नभए पनि उच्च सैन्य अधिकारीको भ्रमण निरन्तर भइरहेको छ ।   

भारतबाट एक वर्षमा तीनजना सैन्य अधिकारीको मात्रै भ्रमण भएको छ । तर, एक वर्षमा चीनबाट उच्च तहको सैन्य अधिकारीको भ्रमण भएको छैन । यस अवधिमा नेपालमा सबैभन्दा बढी अमेरिकी रक्षा सहायकमन्त्री र सैन्य अधिकारीको ६ वटा भ्रमण भएका छन् । भारत, बेलायत र बंगलादेशका तीन तथा इजरायलबाट एउटा सैन्य कूटनीतिक भ्रमण भएका छन् ।   

एक महिनाअघि २४ पुसमा ढाका गएका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा बंगलादेशका सेनाध्यक्ष अजिज आएर फर्किसकेका छन् । प्रधानसेनापतिको निमन्त्रणामा ३ फागुनमा आएका बेलायतका सेनाध्यक्ष काल्र्टनले आइतबार प्रधानसेनापति थापासँग जंगी अड्डामा वार्ता गरे । दुई सेनाको आपसी सम्बन्धबारे चर्चा भएको जंगी अड्डाले जनाएको छ । बेलायत र नेपालले एक–अर्को देशमा सैन्य सहचारी राखेका छन् । दुवै देशका स्टाफ कलेजमा सैनिकले अध्ययन गर्दै आएका छन् भने नेपालमा रहेका सैन्य तालिम केन्द्रमा बेलायती सैनिकले तालिम लिइरहेका छन् ।   

समाचार अनुसार प्रधानसेनापतिकै निमन्त्रणामा भारतका नवनियुक्त स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे र इजरायलका प्रधानेनापति अभिभ कोचबीको भ्रमणको तयारी भएको छ । उनीहरूलाई औपचारिक निमन्त्रणा गर्न मन्त्रिपरिषद्ले सेनालाई स्वीकृति दिएको छ । भारतीय सेनाध्यक्ष नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्नबाट सुशोभित हुन भ्रमण गर्नेछन् । नेपाली सेना र भारतीय स्थल सेनाका प्रमुख एक–अर्को सेनाका मानार्थ महारथी हुने प्रचलन छ ।   

गोरखापत्रले ‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’ शीर्षकको समाचार पहिलो पृष्टमा छापेको छ । कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् । 

स्थानीय रामलाल महर्जन भन्नुहुन्छ, “बिरामी त होइन रहेछन्, किन यहाँ ल्याएको होला रु घरै लगे पनि हुने थियो । रोग सर्छ भन्ने कुरा हल्ला मात्रै जस्तो लाग्यो ।” उहाँले त्यति रमाइलो गरेर बसिरहेकाहरूलाई रोगी भन्न नसक्ने बताउनुभयो । हुन पनि चीनबाट आएका नेपालीको दैनिकी मस्तीले बितेको छ । उनीहरूलाई सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट, टेलिभिजन, विभिन्न खेलकुदका सामग्रीहरूको व्यवस्थासमेत गरिदिएको छ । क्वारेन्टाइनमा बस्ने नेपालीले आफूले सोचेभन्दा पनि धेरै राम्रो व्यवस्थापन गरेकोमा सरकारको प्रशंसासमेत गरिरहेका छन् । 

सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुग्दा रमाइलो दृश्य देखिन्थ्यो । क्वारेन्टाइनमा बसेकाहरूको तीन टोली क्वारेन्टाइनको छतमाथि बसेर क्यारामबोर्ड खेलिरहेका देखिन्थे । केही लुडो, केही ब्याडमिन्टनसमेत खेलिरहेका थिए । सरकारले विभिन्न क्षेत्रका मानिसलाई क्वारेन्टाइन व्यवस्थापनमा खटाएको छ । स्वास्थ्य क्षेत्रमा नेपाली सेनाका चिकित्सक डा। नवीन फुयालको नेतृत्वमा टोली खटाइरहेको छ । डा. फुयालले गोरखापत्रसँंग कुरा गर्दै स्वास्थ्य क्षेत्रबाट गर्नुपर्ने सम्पूर्ण व्यवस्थापन गरिएको बतताउनुभयो । उहाँले क्वारेन्टाइनमा बस्ने १७५ जना स्वस्थ रहेको जानकारी दिँदै सुरक्षाको दृष्टिकोणबाट मात्र राखिएको बताउनुभयो । डा। फुयालले खाना, बस्न, खेलकुद, मनोरञ्जन, इन्टरनेटको समेत व्यवस्था गरिएको बताउनुभयो । 

ललितपुरको चांपाथलीस्थित नारायण आधारभूत विद्यालयका छात्राहरुले १ फागुनमा प्रधानाध्यापक सविता सिलवाललाई ‘केटीहरुमाथि अन्याय भएकोले छानविन गर्न’ हस्तलिखित सामुहिक उजुरी दिएको समाचार कान्तिपुर दैनिकमा छ ।   

३, ४ र ५ कक्षामा पढ्ने छात्राहरुले दिएको उजुरीमा लेखिएको छ, ‘श्रीमान् प्रिन्सिपल, हामी केटीहरुमाथि अन्याय अत्याचार भएको छ। केटीहरुलाई ढाडमा सुम्सुम्याउने, छात्तितिर छुन आउने, विभिन्न अंगमा छुन आउने, नचाहिँदो व्यवहार गर्ने। हामी यस्तो समस्यामा परेका छौँ। हामी यस्तो अत्याचार सहन सक्दैनौँ। नन्द सरले हामीलाई नराम्रो व्यवहार गरेकाले तपाईंहरुले छानविन गरिदिन अनुरोध गर्दछौँ।’ 

आरोपित शिक्षक नन्दप्रसाद निरौता उक्त विद्यालयमा कक्षा ५ सम्म सामाजिक विषय पढाउँछन् । छात्राहरुको उजुरीपछि आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राख्यो। गत आइतबारसम्म पीडित पक्षको जाहेरी नपरेको भन्दै हाजिरी जमानीमा प्रहरीले निरौलालाई छाड्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *