‘प्रधानमन्त्रीप्रति आस्था गर्ने ठाउँ पाईएन ?’ डा. लोहनी

फागुन १०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै प्रशंसा पाएका मन्त्री गोकुलप्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरण आएपछि यो सरकारको चरित्र के हो ? भन्ने कुरा प्रष्ट भएको टिप्पणी गरे । ‘त्यत्रो समर्थन पाएका सञ्चारमन्त्रीबाट जुन किसिमबाट नेपाली जनताको स्रोत र साधनमाथिको खुलेआम लुट गर्ने प्रयास भयो, सरकारको चरित्र के हो ? सरकारबाट के आशा गर्न सकिन्छ ? भन्ने प्रश्न चड्कारो रुपमा आएको छ ।’ उनले भने ।   

शनिबार रिपोर्टस क्लबमा बोल्दै डा. लोहनीले कमिशनको यो अडियो प्रकरणभन्दा अघिपनि यति काण्ड, सुन काण्ड, एनसेल काण्ड, न्यारोबडी काण्ड, वाईडबडी काण्डको लजिकल कन्क्लुजनमा लैजान सरकार तयार नभएको बताए ।   

उनले बाँस्कोटाको ७० करोड कमिशनको टेप प्रकरण सुन्दा अझै एक अर्ब बढाईदेउन भनेर सुनिएको बताए । ‘एक अर्ब भनेको केही पनि होईन, नेपालीहरुको आर्थिक अवस्था कस्तो छ ? त्यसको कुनै मतलब छैन । एक अर्ब बढाईदेउ अथवा अहिले हेर्दाखेरि ३७, २८ अर्बको पनि कुरा आयो ।’ उनले भने ।   

लोहनीले हिजो सामन्ती व्यवस्थामा जसरी शोषण गरिएको थियो अहिले प्रजातन्त्रको वैधानिकता लिएर शोषण गरिएको टिप्पणी गरे । ‘बाँस्कोटामात्रै हो कि त्योभन्दा माथि अरु कोही थिए ? मिश्र भन्ने व्यक्तिले यो टेप लगेर प्रधानमन्त्रीलाई नै दिएका थिए, त्यो पनि दुई महिना अगाडि, त्यो टेप सुनिसकेपछि त्यही व्यक्तिलाई नेपालको सबभन्दा शसक्त राजनीतिज्ञ भनेर प्रशंसा गर्नु र भ्रष्टाचारको कुरा बाहिर आउनुबाट प्रधानमन्त्रीलाई यसमा थाहा थियो या थिएन ? भन्ने कुरा अब ठूलो प्रश्नको रुपमा आएको छ ।’ उनले भने । 

उनले यो प्रकरणमा प्रधानमन्त्रीले पनि बोल्नुपर्ने माग गरे । ‘उहाँले कति थाहा पाउनुभएको थियो ? रोक्नको लागि के गर्नुभयो ? के गर्नुभएन ? नेपाली जनताले थाहा पाउनुपर्छ ।’ डा. लोहनीको तर्क छ । 

अध्यक्ष लोहनीले यो प्रकरणको निश्पक्ष छानबिन हुनुपर्ने बताउँदै संसदीय समितिबाट छानबिन हुनुपर्ने आफूहरुको सुझाव रहेको सुनाए । उनले भने,‘यस्ता छानबिन पहिले भएका पनि छन् । धमिजा काण्ड आएको थियो, त्यसमा कानूनविपरित एक जना मान्छेलाई एजेन्सी दिईयो भनेर संसदले छानबिन गरेको थियो । हामीले सर्वसम्मत केशमा भ्रष्टाचार नभएको भनेर भन्न मिल्दैन भनेर लेखेर पठायौं । जुन दिन संसदमा त्यो प्रतिवेदन पेश हुँदै थियो, त्यही दिन गिरिजाबाबुले राजीनामा दिनुभएको थियो ।’ 

सेक्युरिटी प्रकरणमा संसदीय समितिले गठन गरेको छानबिनमा गएर  प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्ने उनको तर्क छ । उनले गोकुल बाँस्कोटालाई आफूले कुनै महत्वको मान्छे नै नभएको चित्रण गरे । ‘यसको ईम्प्लिेकशनहरु आएका छन्, ती धेरै महत्वपूर्ण छ । यसलाई उपेक्षा गरेर बस्ने हो भने गणितीय रुपमा प्रधानमन्त्रीको बहुमत सरकारमा भएपनि नैतिक धरातलमा उहाँले प्रधानमन्त्री भएर बस्नु मिल्दैन । प्रधानमन्त्री पदको गरिमा, र त्यो पदमा नेपाली जनताको आस्थालाई जोगाउने काम चाहीँ उहाँले गर्नुहोस ।’ उनले भने । 

लोहनीले वर्तमान सरकारले यो दुई वर्षमा ल्याएको बजेट नै असफल भएको दाबी गरे । सरकारले एक वर्षसम्मपनि भनेको कुरा पुर्याउन नसकेको उनको आरोप छ ।   

उनले मुलुकमा रोजगारी र उत्पादकत्व नबढेको पनि गुनासो पोखे । हरेक तहमा अहिले भ्रष्टाचारको विकेन्द्रीकरण भएको पनि आरोप लगाए । उनले नेपालको धर्म र संस्कृतिमाथिनै प्रहार भएको भन्दै चिन्ता व्यक्त गरे । नेपाल सरकारले यसप्रति वास्ता नगरेको पनि उनको आरोप छ । उनले अमेरिकी सहयोग एमसीसीको सवालमा नेपालले ऋण, सहयोग वा अनुदान लिन सक्ने भएपनि शर्तहरु हेर्नुपर्ने सुझाव दिए । उनले भने,‘मुख्य कुरा हामीले हाम्रो राष्ट्रियता र स्वाभिमानमा के असर पर्छ ? भनेर हेर्नुपर्छ । एमसीसीको सवालमा अहिले व्यापक रुपमा छलफल हुनुपर्छ ।’ एमसीसी सम्झौताबारे राष्ट्रिय छलफल हुनुपर्ने उनको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 2 =