नेपाल ट्रष्टको जग्गा : कति छन् लिजमा दिएको सम्पत्ति ?(पूर्णपाठसहित)

फागुन १३, काठमाडौं । नेपाल ट्रष्टको स्वामित्वमा हालसम्म मुलुकभर १२ जिल्लामा करिब २१ हजार ५ सय ६२ रोपनी ४ आना २ पैसा १ दाम जग्गा रहेको छ ।   

यस वर्ष २०७६ पौषसम्ममा नेपाल ट्रष्टको चल सम्पत्तितर्फ ७८ करोड ९ लाख ७७ हजार ७ सय ९३ रुपैयाँ रहेको छ भने अमेरिकी डलर १ लाख ४८ हजार ५ सय ८१ र ५० हजार १ सय ब्रिटिस पाउन्ड स्टर्लिङ समेत बैंकमा मौज्दात रहेको जानकारी दिइएको छ ।   

यस्तै शेयरतर्फ नबिल बैंकको ५ लाख ३३ हजार २ सय ४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७ सय २० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७ सय ५० कित्ता समेत नेपाल ट्रष्टको स्वामित्वमा रहेको उपप्रधान एवम् रक्षामन्त्री तथा ट्रष्टका अध्यक्ष समेत रहेका ईश्वर पोखरेलले जानकारी दिए ।   

कति छन् लिजमा दिएका सम्पत्ति ?  

काठमाडौंको गोकर्णेश्वरस्थित कित्ता नम्बर १४ र १५ मा रहेको करिब ३ हजार ९ सय ७१ रोपनीमध्ये करिब २ हजार ७ सय ९२ रोपनी गोकर्ण फोरेष्ट रिसोर्ट प्रालि साविक एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिलाई लिजमा दिइएको छ । मन्त्रिपरिषदको ७०७६ मंसिर २३ को निर्णय अनुसार १४ अगस्ट २०५० सम्म कुल यूएस डलर १ करोड ८ लाख ३२ हजार २ सय ५ लिज भाडादर कायम गरिएको छ ।   

त्यस्तै काठमाडौं महानगरपालिका–३१ कमलादीस्थित काठमाडौं प्लाजाको भवनको ५ रोपनी जग्गा, लाजिम्पाटस्थित स्टायन्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको भवन रहेको ६ रोपनी १३ आना, टेकुस्थित बिजनेस पार्कको १९ रोपनी १२ आना, दरबारमार्गस्थित निर्मित कम्पलेक्सलाई १ रोपनी १४ आना जग्गा लिजमा दिइएको छ । 

काठमाडौंको ताहाचल धनकुटामा पनि ट्रष्टको स्वामित्वमा रहेको जग्गा लिजमा दिइएको छ ।   

त्यसैगरी नेपाल ट्रष्टले छोटो अवधिका लागि वैदेशिक रोजगार कार्यालय, सार्वजनिक खरिद अनुगमनको कार्यालय लगायत ३ संस्थालाई भाडामा जग्गा दिएर आम्दानी गरिरहेको जानकारी दिइएको छ ।   

नेपाल ट्रष्टको गतिविधि पारदर्शीः रक्षामन्त्री पोखरेल 

नेपाल ट्रष्टको सम्पूर्ण गतिविधि पारदर्शी तवरबाट सञ्चालन भइरहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बताए । उनले कानूनी प्रक्रिया अनुसार गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको पनि जानकारी दिए ।  

अब छिट्टै नेपाल ट्रष्टको आम्दानीबाट शैक्षिक, स्वास्थ्य र छात्रवृत्ति वितरण, विद्यालय भवन, पुस्तकालय सञ्चालन, कम्प्यूटर ल्याब स्थापना, स्वास्थ्य चौकी, उपकरण, पर्यटन क्षेत्रमा होमस्टे प्रवद्र्धन आदीको लागि प्रक्रिया अघि बढाइने उनको भनाइ छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *