मर्चरीबाट शव सार्नेलाई कारवाहीको माग गर्दै उजुरी

फागुन १२, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा भाडा तिरेर राखिएको शव आफु खुशी अन्यत्र सारि शव नै पहिचान गर्न नसकिने बनाएको भन्दै शव सारिनुको स्पष्ट कारणसहित दोषीलाई कारवाहिको माग गर्दै मृतकका आफन्तले उजुरी दिएका छन् ।  

हिजो शनिबार इलाका प्रहरी कार्यालय धरान तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मृतक कुलबहादुर लिम्बुका आफन्त गीता लिम्वुले  घटनाको निष्पक्ष छानविन र दोषि माथि कोरवाहीको माग गर्दै निवेदन दिएकी हुन् ।  

फागुन ८ गते मर्चरीमा भाडा तिरेर राखीएको धरान-१७ रत्न चोकका कुलबहादुर लिम्बुको शवलाई अन्तिम संस्कार गर्नकालागि लिन पुगेका आफन्तहरुले शव बेवारीसे अवस्थामा फेला पारेपछि आक्रोशित हुँदै फरेन्सिक विभागका डाक्टरलाई समेत हातपात गर्दै मर्चरीको शिसा समेत फुटाइदिएका थिए ।  

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, १८ नं.का वडाध्यक्ष प्रविण राईलगायतले गल्ती गर्ने कर्मचारीलाई कारवाहीकालागि अस्पताल प्रशासनसँग वार्ता गर्ने भन्दै प्रतिबद्धता जनाएपछि आफन्तहरुले शवको अन्त्येष्टिका लागि लगेका थिए ।  

उक्त सहमति पश्चात आफन्तहरुले शव किन सारियो ? कस्ले सारेको हो ? छानविन र कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय र अस्पताल प्रशासनसमक्ष आइतबार निवेदन दिएका हुन् । उनीहरुले शव सार्ने कर्मचारीलाई उपस्थित गराई कानुनी कारवाहिको माग गरेका छन् ।  

यता प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाहले शव कसले कसरी अन्यत्र सारे जानकारी नभएपनि पिडीत पक्षहरुसँग प्रतिष्ठानले वार्ता गर्ने र छानविन समिति बनाएर घटनाको छानविन गर्ने बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *