जो बन्दैछन् सतार समुदायका पहिलो डाक्टर (भिडियो रिपोर्टसहित)

फागुन ११, विराटनगर । सतार समुदायका युवा दिनेश हस्दाले खर्च अभावमा मुस्किलले स्कुलको पढाई सके । राम्रो कलेजमा उच्च शिक्षा हासिल गर्नु उनका लागि धेरै परको कुरा, जेनतेन किताब कपी किन्ने खर्च जुटाउनसमेत नसक्दा पढाई नै छोड्नुपर्ने अवस्था थियो । अर्काकोमा अधियाँ खेती गरेर जसोतसो जीविकोपार्जन गर्दै आएको हस्दा परिवारले दिनेशको पढाइमा खर्च गर्न नसक्नु स्वाभाविक थियो । 

तर, आर्थिक अभावका कारण सामान्य पढाइमै समस्या बेहोर्दै आएका हस्दाले अहिले चिकित्सा जस्तो महँगो एवं स्तरीय शिक्षा पढ्ने अवसर पाएका छन् । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले उनलाई निःशुल्क एमबिबिएस पढाएर डाक्टर बनाउँदै छन् । मोरङको पथरीशनिश्चरे घर भएका २८ वर्षीय हस्दाका लागि पढाई मात्र नभई आवश्यक सम्पूर्ण खर्च डा.शर्माले नै दिँदै आएका छन् । 

निःशुल्क पढ्न, बस्न, खान र लत्ता कपडासहित आवश्यक अन्य खर्चको व्यवस्थासमेत डा.शर्माले नै मिलाई दिँदा डाक्टर बन्ने अवसर पाएको भन्दै हस्दाले खुःशी व्यक्त गरे । ‘गरिब परिवारमा हुर्किएको मसँग भविष्यमा के गर्ने भन्ने केही योजना नै थिएन । पैसा नभएपछि योजना मात्र बनाएर पनि के गर्नु ?’ विगत सम्झँदै उनले भने ‘भगवान् नै प्रकट भएजस्तो गरी सुनिल सरले मलाई अकल्पनीय अवसर मिलाइदिनुभयो ।’ 

दिनेश र डा.शर्माबिच कुनै नाता छैन, चिनजान पनि थिएन । विगतमा गरिबीको तितो अनुभव भोगेका डा.शर्माले हस्दालाई पनि आफ्नो विगतसँग तुलना गरे । अनि उनलाई सतार समुदायको पहिलो डाक्टर बनाउने अठोट लिएर डा.शर्माले दिनेशमाथि लगानी गरे । ‘गरिबले पनि डाक्टर बन्न पाउनुपर्छ भनेर मैले पिछडिएको समुदायबाट छानेर दिनेशलाई सहयोग गरेको हुँ ।’ डा.शर्माले भने ।   

नोबेल मेडिकल कलेजमा साढे ५ वर्षे एमबीबीएस कोर्षको अन्तिम वर्षमा अध्ययन गर्दै आएका दिनेशको एमबीबीएसस पढाई अब केही महिनामै सकिँदै छ । सम्भवतः सतार समुदायको पहिलो डाक्टर दिनेश हुँदै छन् । दिनेशको पढाईसहित सम्पूर्ण खर्चको को लागि डा.शर्माले झन्डै एक करोड हाराहारी लगानी गरिसकेका छन् । उनलाई विज्ञान सङ्कायमा प्रवीणता प्रमाणपत्र तह पनि डा.शर्माले नै पढाएका हुन् । 

डा.शर्माले हस्ता जस्तै अन्य गरिब, विपन्न तथा पिछडावर्गका तीन सय भन्दा बढी विद्यार्थीलाई निःशुल्क पढाएका छन् । समाजसेवामा सक्रिय डा.शर्माले विपन्न तथा पिछडावर्गका विद्यार्थी र गरिब तथा असहाय बिरामीलाई सहयोग गर्ने उदाहरणीय काम गरेर प्रशंसा पाउँदै आएका छन् । 

हेर्नुहोस भिडियो रिपोर्ट : 

https://youtu.be/nzDx1nozNAI 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *