यथास्थितिवादबाट माथि उठ्न कर्मचारीलाई मन्त्री लामाको निर्देशन

फागुन ७, चितवन । बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कर्मचारीहरुलाई समय सापेक्ष काम गर्न निर्देशन दिएका छन् ।  

प्रजातन्त्र दिवसको अवसरमा राप्ती नगरपालिकाले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री लामाले यथास्थितीवादबाट माथि उठ्न निर्देशन दिएका हुन् । ‘देश नयाँ युगमा प्रवेश गरिसक्यो । कर्मचारीको काम गर्ने अवस्था भने पुरानै शैलीको छ । यथास्थितिवाद भन्दा समय सापेक्ष काम गर्नुपर्छ । तबमात्र सेवाग्राहीले नयाँ अनुभुती गर्छन्’, मन्त्री लामाले भने ।  

मन्त्री लामाले विकास निर्माणको कामलाई तीव्र पार्नुपर्ने भन्दै बजेटमा कुनै कमी नहुने विश्वास दिलाए । बजेट पर्याप्त हुने भएपनि कार्यान्वयन नहुने गरेको भन्दै यसमा कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।  

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जनताको आकांक्षा अनुसार नगरपालिकाले काम गरिरहेको बताइन् । उनले आवश्यकतालाई प्राथमिकता दिएर काम भईरहेको समेत जानकारी दिइन् ।  

राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामाले योजना कार्यान्वयनमा नगरपालिका चनाखो भएर काम गरिरहेको बताए । सो अवसरमा राप्ती २ का युवा वैज्ञानिक सरोज प्रजालाई सम्मान समेत गरिएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईँले जानकारी दिए ।  

बाटो भएको ठाउँमा गुड्ने र नभएको ठाँउमा उड्ने एयर एम्वुलेन्स निर्माण गरिरहेको भन्दै युवा वैज्ञानिक प्रजालाई सोका लागि ३ लाख रुपैयाँ नगरपालिकाले प्रदान गर्ने जानकारी गराए ।  

कार्यक्रममा नगरमा क्रियाशिल राजनितिक दलका प्रमुख एवम प्रतिनिधी, सहकारीका प्रतिनिधी, नागरीक समाज, समाजसेवीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =