बाँस्कोटा अडियो प्रकरण : प्रधानमन्त्रीसहित चारजनाविरुद्ध अख्तियारमा उजुरी

फागुन ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, निबर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।   

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’ प्रकरणमा नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुरका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, निवर्तमान सूचना तथा सञ्चार प्रविधि मन्त्री बाँस्कोटा, तत्कालिन सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सीईओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन्। 

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा अख्तियारमा उजुरी परेको जानकारी दिएका छन् । उनले अख्तियारमा उजुरी परेसँगै छानबिन प्रक्रिया अघि बढेको बताएका छन् ।   

सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि निर्वतमान सञ्चारमन्त्री बाँस्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए।   

उजुरीमा भनिएको छ, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायीत्व र कर्तव्य रहेकोमा सो प्रमाण लुकाएबाट निज प्रधानमन्त्री पनि सो भ्रष्टाचारको उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टी हुन्छ।’ 

सेक्युरेटी प्रेस खरिदमा स्वीजरल्याण्डका एजेन्ट विजयप्रकाश मिश्रसँग १६ महिनाअघि बास्कोटाले गरेको अडियो बुधबार राति बाहिरिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *