कोरोना भाइसरको प्रभाव : विश्व सेयर बजारमा २००८ यताकै ठूलो धक्का

फागुन १७, काठमाडौं । विश्वभरका सेयर बजारमा सन् २००८ को आर्थिक संकटयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । कोरोना भाइरसको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण संसारभरको सेयर बजार ओरालो लागेको बेला लन्डनको फुट्सी १०० इन्डेक्स तीन प्रतिशतभन्दा बढीले घटेको छ । 

एशियाली सेयर बजारमा झन् ठूलो असर परेको छ भने अमेरिकाको डाउ जोन्सले सबैभन्दा ठूलो गिरावट भएको दिन देखेको छ । लगानीकर्ताहरूमा कोरोनाभाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी देखिने डर देखिएको छ । इटलीमा समेत प्रकोप देखिएको समाचारहरूले पहिले अपेक्षा गरिएभन्दा ठूलो असर देखिन सक्ने अनुमान गरिएको छ । 

‘बजार आवश्यकताभन्दा बढी आशावादी भएको थियो, अहिले आवश्यकताभन्दा बढी निराशावादी भएको छ,’ आईएनजीका ग्रेटर चाइना अर्थविद् आइरिस पाङले भने । स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्कका रणनीतिकार मयङ्क मिश्रले थपे- ‘पहिले चीनमा लगाइएका प्रतिबन्धहरूका कारण बजारमा एक खालको सहजता देखिएको थियो ।’ 

‘तर चीनबाहिर विशेषगरी दक्षिण कोरिया, इटली र जापानमा कोरोनाभाइरस फैलिएपछि चिन्ता बढेको छ ।’ शुक्रवार बिहान शेअर बजार खुल्दा सबै युरोपेली सेयर बजारहरू ओरालो लागेका छन् । जर्मनीको सेयर बजार ३.६ प्रतिशतले र फ्रान्सको शेअर बजार ३.१ प्रतिशतले घटेर खुलेका थिए । 

यसअघि एशियामा जापानको सेयर बजार ३.७ प्रतिशतले घटेपछि यो साता कूल ९ प्रतिशतको गिरावट आएको छ । अस्ट्रेलियाको सेयर बजार ३.३ प्रतिशतले घट्यो जुन सन् २००८ यताको सबैभन्दा ठूलो गिरावट हो । भारतका निफ्टी ५० र सेन्सेक्स सेयर बजार दुवै लगभग तीन प्रतिशतले घटेको छ । चीनको साङ्घाई कम्पोजिट इन्डेक्स शुक्रवार ३.७ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *