आइसीसी विश्वकप क्रिकेट लिग टू : ओमानसँग बदला लिने दाउमा नेपाल

माघ २६, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपाल ओमानविरुद्धको दोस्रो खेलमा हारको बदला लिने दाउमा छ । यसअघि सिरिजको पहिलो खेलमा नेपाल ओमानसित १८ रनले पराजित भएको थियो । 

ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ओमानविरुद्ध ब्याटिङमा उत्रेको छ । अमेरिकासितको शनिबारको खेलमा जस्तै आजको खेलमा पनि नेपालको ब्याटिङको शुरुआत कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले गरिरहेका छन् ।   

विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपाल र ओमानबीचको पहिलो खेलमा शरद घाइते भएपछि सुवास नेपाली टोलीमा फकिएका थिए ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकासितको खेलमा शरद भेषवाकरको स्थानमा ब्याटिङमा उत्रेका सुवासले मात्र तीन रन बनाए। कप्तान ज्ञानेन्द्रले पनि २१ रन बनाए । अहिलेसम्मको खेलमा नेपालको ओपनिङ कमजोर देखिएको छ । नेपाल ओमानसितको खेलमा उक्त कमजोरी सुधार्ने प्रयासमा छ । 

अमेरिकासितको खेलमा नेपालले ४९ रनको स्कोर छँदा पाँच विकेट गुमाएको थियो । कुशल मल्ल र विनोद भण्डारीले नै खेलमा जितको आधार बनाएका थिए । कुशलले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने विश्व कीर्तिमानसमेत बनाएका छन् ।  विनोदले ५९ रन बनाए ।   

यसअघि पहिलो खेलमा ओमानले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेपालले सबै विकेट गुमाउँदै १७९ रनमा समेटिएको थियो । नेपालले ओमानलाई दबाबमा राख्नका लागि २५० रनको स्कोर बनाउनुपर्ने छ । अनि मात्र आजको खेलमा ओमानलाई हराउन सकिने छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *