कार दुर्घटनामा एक महिलाको मृत्यु, तीन जना घाइते

फागुन १०, कास्की । पोखरामा शुक्रवार साँझ भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  

पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको कार पौने पाँच बजे छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा-१७ बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनामा तनहुँ बन्दीपुर घर भई हाल पोखरा-१७ छोरेपाटन बस्ने २१ वर्षीया बिना थापामगर तथा उनका छोरा अन्दाजी तीन वर्षका अनिस थापामगर र मृतक महिलाका छोरी घाइते भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।  

क्षेत्रीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीको भनाइ थियो । दुर्घटनालगत्तै घाइतेलाई स्थानीयले उद्धार गरी नजिकैको नमस्ते अस्पताल पुर्‍याएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *