भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन

माघ २४, काठमाडौं । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन् ।   

चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहनुभएकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसक्नुभएको छ । जारी लिगमा उहाँ हालसम्म सर्वाधिक गोलकर्ता बनेकी छिन् ।   

सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उहाँ उक्त लिग खेल्न माघ ७ गते भारत गएकी हुन् । दोस्रो पटक सो लिग खेलिरहनुभएकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध छिन् । गत वर्ष उनले सेथु एफसीबाट खेलेकी थिइन् । सेथु गत संस्करणको च्याम्पियन पनि हो । सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिइन् । उक्त लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।   

सावित्रालाई ओजिलको जर्सी   

भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ । ओजिलका एजेन्ट इकुट सोगुटले उनलाई सो जर्सी हस्तान्तरण गरेका थिए ।   

जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ । लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उहाँले तीन गोल गरेका थिए । सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहेकी छिन् । सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ ।   

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *