‘छाउगोठ भत्काउँदा टाउको दुख्नुपर्ने कारण के हो’

माघ २१, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद् निरुदेवी पालले छाउपडी घर भत्काएको विरोध गर्नेहरुलाई एकदिन छाउगोठमा बसेर देखाउन चुनौती दिएकी छिन् ।   

सुदुरपश्चिम र कर्णाली क्षेत्रका छाउगोठ भत्काउँदा केही व्यक्तिहरुको टाउको दुखेको भन्दै उनले एकदिन भएपछि छाउगोठमा बसेर देखाउन चुनौति हुन् ।   

‘सुदूरपश्चिम र कर्णालीबासीले टाउको उठाइरहेका बेला अरुको टाउको दुखेकोमा गम्भिर ध्यानाकर्षण गर्न चाहन्छु, विरोध गर्नेलाई छाउगोठमा कम्तिमा एक दिन मात्रै बसेर देखाइदिनुहुन अनुरोध गर्छु ।’ आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद पालले भनिन् । 

संसदीय समितिको महिला बालबालिका तथा जेष्ठ नागरिक समितिको सभापती समेत रहेकी पालले गृह मन्त्रालयले छाउगोठ भत्काएर राम्रो काम गरेको भन्दै अहिले सम्म १२ जिल्लाका आठ हजार ७ सय घर भत्काएको बताइन् । ‘डलर खेति गर्नेहरुले टाउको दुखाई गर्नु स्वभाविक हो किनकी ती घरहरु देखाएर आयस्रोत बटुल्ने उहाँहरुको प्रयास असफल भयो । तर, अरुको टाउको दुख्नु पर्ने कारण मैले बुझ्न सकिन् ।’ पालले शुन्य समयमा भनिन् । 

सांसद पालले सुदूर र मध्य पश्चिमका महिलाहरुले डेढ फिटे साना गोठ कटेरा मुनि बसेर महिनाको चार दिन आफ्नो ज्यान आहुति दिनु पर्ने अवस्थाको अन्त्य हुँदै गएको जानकारी दिइन् । गत माघ १७ गतेको प्रतिनिधि सभा बैठकमा सांसद् गजेन्द्रबहादुर महतले छाउगोठ भत्काइएको प्रति आपत्ति जनाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *