सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप प्रतियोगिता आजदेखि
फागुन ९, काठमाडौं । सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण आज सुरु हुँदैछ । घरेलु फुटबलमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको तयारी पूरा भएको आयोजक सुदूरपश्चिम ११ क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा बागमती क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेतालाई २१ लाख एक तथा उपविजेतालाई १० लाख एक सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही १० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितको आयोजनामा एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एकमात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम-११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिताको आयोजना गर्दै आएको छ ।