चेल्सीकाे घरमा बार्यनकाे शानदार जित

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी घरमै बायर्न म्युनिखसँग ३–० ले स्तब्ध बनेको हो ।
बायर्नको जितमा सर्जी जिनाव्रीले दुई तथा रोवर्टाे लेवान्डोस्कीले गोल गरे । चोटिलो घरेलु टोलीले पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा बायर्नको अग्रपङ्तिलाई रोक्न सकेन । बायर्नले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्न सफल भएको थियो ।
पहिलो मिनेटमा नै थोमस मुलरको प्रहारलाई चेल्सीका गोलरक्षक वेल्फ्रेडो कावालेरोले मुस्किलले बचाए । सातौ मिनेटमा मासन माउन्टको प्रहार क्रस बारमा लागेर बाहिरिँदा चेल्सी अग्रता लिनबाट चुक्यो । ११औं मिनेटमा बायर्नका किङ्सले कोमानको प्रहार बाहिरियो । २८औं मिनेटमा चेल्सीका गोलरक्षक कावालेरोले मुलरको प्रहारलाई मुस्किलले विफल पारे । ३५औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा बायर्न अग्रता लिनबाट पुनः चुक्यो ।

४८औं मिनेटमा मासन माउन्टको प्रहारलाई अल्फोन्सोले ब्लक गरिदिए । लगातार अवसर गुमाइरहेको बायर्नले ५१औं मिनेटमा गोल गर्न सफल भयो । सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । उनले रोवर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेट पछि नै लेवान्डोस्कीको पासमै सर्जी जिनाव्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बनेको थियो ।
७६औं मिनेटमा अघिल्लो दुई गोलमा असिस्ट दिएका रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको जित पक्का गरे । उनले अल्फोन्सो डेभिसको पासमा गोल गर्न सफल भएका थिए । ३ गोल खाइसकेको चेल्सीले ८३औं मिनेटमा अर्काे झट्का बेहोर्यो । रोवर्टाे लेवान्डोस्कीमाथि खराव ट्याकल गरेपछि मार्काेस अलन्सो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटियो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी घरमा ३–० ले निरिह बन्न पुग्यो ।
महत्त्वपुर्ण अवे जितसँगै बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा बराबरी या २–० को हारले पनि बायर्न क्वाटरफाइनलमा प्रवेश गर्नेछ । चेल्सीलाई क्वाटरफाइनलमा प्रवेश गर्न कम्तीमा पनि ४–० को जित आवश्यक छ । दोस्रो लेग बायर्नको मैदानमा १९ मार्चमा हुनेछ ।








