ला लिगामा बार्सिलाेनाकाे संघर्षपूर्ण जित

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा संघर्षपुर्ण जित निकालेको छ । बार्सिलोनाले रियल बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । बार्सिलोनाको जितमा फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स र क्लेमेन्ट लेङ्लेटले गोल गरे । घरेलु टोली बेटिसका सर्जियो कानालेस र नविल फेकिरले गोल गरे । 

घरेलु मैदानमा रियलले खेलको छैटौ मिनेटमा सर्जियो कानालेसले पेनाल्टीमा गोल गर्दै अग्रता लिएको थियो । पेनाल्टी बक्समा क्लेमेन्ट लेङ्लेटले ह्यान्ड गरेपछि बेटिसले पेनाल्टीको मौका पाएको थियो । जसलाई सर्जियोले सदुपयोग गरेका थिए । नवौं मिनेटमा फ्रान्की डि जोङले कप्तान लियोनल मेस्सीको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

२६औं मिनेटमा नविल फेकिरले गोल गरेपछि बेटिसले खेलमा पुनः २–१ को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेस्सीकै पासमा सर्जियो बुस्स्क्वेट्सले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । 

७२औं मिनेटमा मेस्सीकै पासमा लेङ्लेटले गोल गर्दै बार्सिलोनालाई पहिलोपटक खेलमा ३–२ को अग्रता दिलाए । त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिएको थियो । ७६औं मिनेटमा बेटिसका नविल फेकिर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । 

७९औं मिनेटमा क्लेमेन्ट लेङ्लेट पनि दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिदा बार्सिलोना पनि १० खेलाडीमा समेटियो । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोनाले खेलमा ३–२ को संघर्षपुर्ण जित निकाल्यो । जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडलाई पछ्याइरहेको छ । बार्सिलोनाको २३ खेलबाट ४९ अंक छ । उति नै खेलबाट रियलको ५२ अंक छ । रियल बेटिस २८ अंक जोडेर १३औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *