‘विगतमा भएका भ्रष्टाचारका घटनामा नैतिकताको महशुस भयो कि भएन ?’
फागुन १३, काठमाडौं । सक्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले आफ्नो पार्टी भ्रष्टाचारको विरुद्धमा कटिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भ्रष्टाचारका घटनामा सम्बन्धित व्यक्तिले नैतिक रुपमा जिम्मेवारी लिएर पदबाट राजिनामा दिने परिपाटी स्थापित भएको उल्लेख गर्दै भने, ‘विगतमा यस्ता खालका भ्रष्टाचारका गतिविधि हुँदा कतिपय राजनीतिक दलका माथिल्लो तहमा बसेका व्यक्तिहरुले त्यो नैतिकताको महशुस गरेका थिए कि थिएन ?’
भ्रष्टाचार मुद्दालाई हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको बताउँदै उनले अख्तियारले कुनै पनि भ्रष्टाचारमा मुछिएको व्यक्तिलाई उसको पद, पार्टी अथवा कुनै पृष्टभूमि नहेर्ने बताए । उनले भने, ‘अख्तियारले कुनै पनि भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई उसको पद, उसको पार्टी वा पृष्टभूमि हेरेर होइन तथ्यको आधारमा, यदी कुनै पनि व्यक्तिले भ्रष्टाचारपूर्ण काम गरेको छ भने, निजलाई नेपालको कानून बमोजिम, कानूनका अगाडि सबै व्यक्ति समान छन् भन्ने धारणालाई आत्मसाथ गरेर कारवाही प्रक्रिया अगाडि बढाउानु पर्छ ।’