चीनबाट उद्धार गरिने नेपालीलाई उपत्यकाको चार स्थानमा राख्न निर्देशन

माघ २३, काठमाडौं । चीनबाट उद्धार गरिने नेपाली नागरिकहरुलाई सरकारले उपत्यकाका चार स्थानमा राख्न निर्देशन दिएको छ ।   

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको विशेष बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न माग गरेका हुन्। 

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजना अनुरूप समग्र तयारीमा जुट्न सम्बद्घ मन्त्रालय र निकायहरूलाई निर्देशन दिए। 

प्रधानमन्त्री ओलीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो ।   

बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई यहाँ ल्याएपछि गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनावद्ध रूपमा गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन्। 

सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएका थिए। 

त्यस्तै बैठकले नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ मास्क चीन सरकारलाई सहयोग स्वरुप उपलब्ध गराउने निर्णयसमेत गरेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *