प्रकाश सपुत सहितकाे ‘परदेशी-२’ काे घाेषणा

काठमाडौं, फागुन १० । चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त गरिएको छ । शुक्रबार चलचित्रका प्रमुख कलाकारहरुको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो ।
शुक्रबार नै दक्षिणकाली मन्दिरमा समेत पूजा गरिएको थियो । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल चलचित्रका लेखक र निर्देशक नारायण रायमाझीले आफ्नो तेस्रो चलचित्र ‘परदेशी-२’ को शुभमुहूर्त सम्पन्न गरेका हुन् । ‘गोर्खा पल्टन’देखि नै नारायण रायमाझीसँग लगातार सहकार्य गर्दै आएका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरेका अनुसार यस अघिका चलचित्रहरुको मुहूर्त पश्चात दक्षिणकालीमा पनि यसैगरी पूजा गरिंदै आएको थियो ।
‘परदेशी–२’ मुभिज डटकमको व्यानरमा निर्माण हुने चौथो चलचित्र हो । यसअघि यस व्यानरमा ‘कोही मेरो’, गोर्खा पल्टन’ र ‘परदेशी’ निर्माण भईसकेका छन् ।

‘परदेशी’ चलचित्र निर्माण गरिसकेपछि परदेशका अरु धेरै कथा–व्यथा पनि समेट्न पाए हुन्थ्यो भन्ने मनमा छटपटी भईरहेको बताउँदै ‘परदेशी-२’ यस्तै धेरै कथाहरु मध्येको एक कथा भएको कुरा चलचित्रका निर्देशक नारायण रायमाझीले जानकारी गराए । उनका अनुसार ‘परदेशी-२’ नेपाली गाउँबस्ती रित्तिएको कथा हो । नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो । सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरुको सङ्घर्षमय जीवनको कथा हो । बाध्यता या रहरले बिदेशिएका युवा र तिनका अभिभावकहरुले देखेको मीठो सपना अनि वास्तविक भोगाई र कठिनाईहरुको यथार्थ कथा हो । अनि मातृभूमिबाट टाढा गएपछि आफ्नो परिवार, समाज, उकाली ओराली र सिङ्गो देशको यादले सताएको कथा हो ।
नारायण रायमाझीद्वारा निर्देशित पहिलो चलचित्र ‘गोर्खा पल्टन’मा लाहुरे परिवारको बैभवताभित्रको कहालीलाग्दा पीडाहरुलाई यथार्थ रुपमा उजागर पारिएको थियो । जसको कथावस्तु र प्रस्तुति त सशक्त थियो नै, सङ्गीत पक्ष पनि सबल रहेकोले चलचित्र ऐतिहासिक रुपमा सफल भएको थियो ।
यसैगरी रायमाझीको दोस्रो चलचित्र ‘परदेशी’ले भारतीय नाकाबन्दीका बाबजुद, अझ भनौं अधिकांश नेपालीहरुको चुलोमा आगो बल्न बन्द भएको अवस्थामा पनि अकल्पनीय सफलता हासिल गरेको थियो । सङ्ख्यात्मक हिसाबले थोरै चलचित्र भएपनि गुणात्मक कामको कारणले गर्दा ठूलो लोकप्रियता हासिल गरेका रायमाझीको ‘परदेशी-२’ लाई सिङ्गो सिने नगरीले यतिबेला निक्कै चासोको साथमा नियालिरहेको छ । विगतको ख्याति र दर्शकको उच्च अपेक्षाबीच रायमाझीको यो यात्रा निक्कै संवेदनशील लाग्दछ ।
‘परदेशी-२’ मा राजेश वंशल र नारायण रायमाझी निर्माताको रुपमा रहने छन् भने प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने छ । गीतकार समेत रहेका रमेश बि.जी.को कथा रपटकथा, निर्देशक रायमाझीको पटकथा र संवाद रहेको चलचित्रमा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शव्द तथा बीबी अनुरागी र नारायण रायमाझीको सङ्गीत रहने छ ।
चलचित्रमा प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टिका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर दिने छन् । चलचित्रमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्ने छन् भने मान कृष्ण महर्जनले चलचित्र खिच्ने छन् ।








