भित्र छिनाझपटी, बाहिर एकताको दुहाइ !, पेट्रोलमा ८६ प्रतिशत कर, सीपी मैनाली खतरा मुक्त

फागुन १६, काठमाडौं । आज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विविध विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । कार्यक्रमको तालिका पूर्वनिर्धारित नै हो तर तालिकामा पार्टीको समीकरणभित्र दुई भागमा बाँडिएका दुईरदुई जना नेता सहभागी हुनु संयोग थियो, कान्तिपुरको समाचारमा छ ।   

त्यसैले पनि बिहीबार काठमाडौंमा भएको नेकपा वाग्मती प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन कार्यक्रममा पार्टी अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्य ईश्वर पोखरेल सहभागी हुने भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे केही जानकारी आउँछ कि भन्ने अपेक्षा नेकपा कार्यकर्ताको थियो । त्यसैले कार्यक्रमको सुरुमै वाग्मती प्रदेश कमिटीका सहइन्चार्ज हितमान शाक्यले भने, ‘नेताहरूको कुरा र निर्णयबारे बेलाबेला बाहिर आउने चिजले हाम्रो दिमाग खराब गर्छ ।’ 

शाक्यको अभिव्यक्ति चार दिनदेखि उतारचढावपूर्ण रहेको नेकपाको आन्तरिक राजनीतिप्रति लक्षित थियो । हुन पनि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्न बहसमा नेतृत्व विभाजित भएपछि त्यसको तरंग नेकपाको कार्यकर्ता पंक्तिमा पुगेको थियो तर झन्डै चार घण्टा चलेको उद्घाटन सत्रमा नेताहरू यसरी प्रस्तुत भए कि नेकपाभित्र कुनै समस्या छैन, नेतृत्व एकताबद्ध छ । 

समाचार अनुसार, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीसँग व्यापक र सुदृढ संगठन भएको दाबी गर्दै एकता नखलबलिने बताए । ‘हाम्रो संगठन मजबुत छ, हामी कार्यकर्ताको बलमा टिकेका छौं,’ उनले भने, ‘हामी मान्छे अलमल्याउने खेलमा छैनौं, देश बनाउने संकल्पका साथमा अघि बढेका छौं ।’ पार्टी नेतृत्वविरुद्ध पार्टीभित्रका नेताले चाहिँदो नचाहिँदो लेखेर प्रचारबाजी गरेको आरोप भने अध्यक्ष ओलीले लगाए । 

‘पार्टीको आफ्नै कुनै सञ्चार माध्यम छैन, नेताहरूका आआफ्ना सञ्चार माध्यम छन्, उनीहरू आफ्ना नेताविरुद्ध क्रियाशील छन्,’ उनले भने, ‘लेखेर पार्टीको खोइरो खन्ने काम भएको छ, यो कुनै बहादुरी होइन, समय क्रममा त्यस्ता कुराको पार्टीले मूल्यांकन गर्छ ।’ पार्टीको आन्तरिक राजनीतिबारे संक्षिप्त भनाइ राखेका ओलीले आफ्नो जन्मदिन र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणको बचाउमा भने केही समय खर्चिए । 

ओलीले बुधबार सचिवालय बैठकले गरेको उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका थिए । आफ्नै अध्यक्षतामा बसेको निर्णयलाई आफैंले नमान्ने चुनौती उनले दिएपछि पार्टीभित्र पछिल्लो समय देखिएको समीकरणप्रति धेरैको चासो थियो तर अरू नेताले पनि प्रशिक्षण उद्घाटनमा त्यो विषय उप्काएनन् । पार्टीभित्र व्यापक विवाद छ भन्नेमा भने सबैजसो नेता एकमत देखिए । 

सरकारले पेट्रोलमा ८६ प्रतिशत कर उठाइरहेको समाचार नयाँ पत्रिकामा छ । १२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र हवाई इन्धन बिक्रीमा लिँदै आएको पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ पुर्‍याएपछि पेट्रोलमा सरकारले लिने कर मात्रै प्रतिलिटर ४४ रुपैयाँ ४८ पैसा पुगेको छ । यो पेट्रोलको पछिल्लो खरिद मूल्य ५१ रुपैयाँ ८४ पैसाको ८६ प्रतिशत हो ।  

उपभोक्ता मूल्यमा असर नपर्ने गरी पेट्रोल, डिजेल र हवाई इन्धनमा पूर्वाधार विकास कर लगाएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए । तर, उपभोग्य वस्तुमा सरकारले उठाउने अप्रत्यक्ष कर उपभोक्ताले नै तिर्ने हो । यसअघि नै आर्थिक वर्ष ०७२/७३ को बजेटमा बुढिगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न भन्दै सरकारले पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले कर लिँदै आएको थियो । त्यो कर पनि उपभोक्ताको मूल्यमा कुनै असर नपर्ने गरी लिने भन्ने घोषणा थियो । तर, अहिले आयल निगमले पेट्रोलियमको मूल्यमा सो कर थपेर उपभोक्ताबाट असुल्दै आएको छ । 

सरकारले हालै गरेको करवृद्धिपछि तत्कालै पेट्रोलियमको भाउ नबढाउने, तर आगामी दिनमा मूल्य समायोजन गर्दा यो कर जोड्दै जाने रणनीति अँगालिएको आयल निगम स्रोतले नयाँ पत्रिकालाई बतायो । ‘हाललाई निगमकै नाफा अलि कम गरी सरकारलाई कर बुझाउँछौँ,’ निगमका एक अधिकारीले भने, ‘प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची आउँदैपिच्छे १–२ रुपैयाँका दरले थप गरिएको करलाई उपभोक्ता मूल्यमा जोड्दै जान्छौँ ।’ 

यसअघि बुढिगण्डकी आयोजना सरकार आफैँले बनाउने भनी आर्थिक ऐनमार्फत नै पाँच रुपैयाँ प्रतिलिटरका दरले इन्धनमा पूर्वाधार विकास कर उठाउने व्यवस्था गरिएको थियो । तर, अहिले आर्थिक ऐनको दफा १८ अनुसार भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरी तजबिजी रूपमा करको दर बढाइएको छ ।  

मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबारबाटै लागू हुने गरी तीनवटै पेट्रोलियममा थप पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १० रुपैयाँका दरले कर उठाउन थालिएको नेपाल आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक नागेन्द्र साहले जानकारी दिए । ‘हामीले बिहीबारबाट पेट्रोल, डिजेल र हवाई इन्धन बिक्रीमा प्रतिलिटर १० रुपैयाँका दरले पूर्वाधार कर तिर्न सुरु गरेका छौँ,’ उनले भने । प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर हुँदा मासिक एक अर्ब रुपैयाँ उठ्ने गरेको थियो । तर, अब मासिक दुई अर्ब रुपैयाँ पूर्वाधार कर शीर्षकमा उठ्ने उनले बताए । यो करको भार उपभोक्तामा पर्नेछ ।  

अन्नपूर्णले ‘सरकार, पुरस्कार कहिले दिने’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको साढे दुई महिना बित्यो। साग सकिनेबित्तिकै मंसिर २५ गते प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर एक महिनाभित्र नगद पुरस्कार दिने घोषणा गरेका थिए । तर, खेलाडीले अझै पुरस्कार पाएका छैनन् । 

सागका पदक विजेताले यसअघि पाउँदै आएको नगद पुरस्कारभन्दा प्रधानमन्त्री ओलीले बढी घोषणा गरेपछि खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि नै संशोधन गर्नुपर्ने बाध्यता थियो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि संशोधन प्रस्ताव पारित गरेको छ। 

नयाँ कार्यविधिमा पुरस्कारका लागि सिफारिस समिति गठन गर्नुपर्ने र समिति गठन भएको तीन महिनाभित्र सिफारिस गर्नुपर्ने व्यवस्था रहेकाले खेलाडीले पुरस्कार पाउन केही समय कुर्नुपर्ने भएको छ। सिफारिस समिति गठन भएको छैन। समिति युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने प्रावधान छ, समाचारमा छ । 

गत मंसिर १४ देखि २४ गतेसम्म घरेलु भूमिमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जित्दै पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो। प्रधानमन्त्री ओलीले दुईभन्दा बढी स्वर्ण विजेतालाई ११ लाख, एउटा स्वर्ण विजेतालाई नौ लाख, रजत पदक विजेतालाई ६ लाख र कांस्य विजेता खेलाडीलाई तीन लाख दिने घोषणा गरेका थिए। 

व्यक्तिगत स्पर्धाका स्वर्ण विजेतालाई पुरस्कार घोषणा गरे पनि टिम इभेन्टका विजेता खेलाडीको पुरस्कार घोषणा भने हुन सकेको थिएन। टिम इभेन्टका खेलाडी कति पुरस्कार पाइन्छ भन्ने अन्योलमा थिए । 

दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको समाचार गोरखापत्रमा छ । अन्वेषणका लागि खनिएका तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशाका १० वटा लाइनमा सेस्मिक सर्भे सम्पन्न भएको हो । 

सर्भेमा भेटिनु भएका खानी तथा भूगर्भ विभागका भूगर्भबिद् डा.गणेशनाथ त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थ अन्वेषणका लागि खनिएका १० वटा लाइनमा बुधवार काम सम्पन्न भएको हो । उनले माघको दोस्रो साताभित्र सर्भे सम्पन्न गर्ने भनिए पनि बर्षाका कारण काम प्रभावित भएपछि फागुनको पहिलो साता काम सम्पन्न भएको बताए । 

दैलेख जिल्लाको मुख्य तया दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई बिशेष केन्द्रित र चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकालाई केही भूभाग समेटेर १० वटा सेस्मिक लाईनहरूमा जम्मा २ सय लाइन किमी सर्भेका लागि चार सय बर्ग किमी भूभाग समेटेर सर्भे गरिएको थियो । 

चिनियाँ प्राबिधिक टोलीले संकलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राबिधिक टोलीले आफूलाई जानकारी गराएको र जमिनमुनि पेट्रोलियम पदार्थलाई थुनेर राख्नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतहीमा अन्वेषणबाट पनि देखिएको उनको भनाइ छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *