बहिर्गमित जनमुक्ति सेनाको समस्या र समाधानका ११ उपाय

साना हुन वा ठुला कुनै पनि समस्यालाई गम्भिरताका साथ समाधानका उपाय राज्यले खोज्न पर्छ । समस्यालाई वेवास्ता गर्ने, पक्ष वा विपक्षमा राज्यले विभेद गर्ने, अल्मल्याउने आदि इत्यादी विधिमा राज्य वा सरोकारपक्ष गैरजिम्मेवार बने भविष्यमा जन्मने नयाँ द्वन्द्वको भागिदार स्वयम राज्य सम्बन्धित पक्ष हुने भएकाले सबैले समयमै वास्तविकतालाई आत्मसाथ गरौं। 

आजको सन्दर्भमा दश वर्षे जनयुद्धका उपलब्धिका साथै समस्या पनि उब्जाएको छ । तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्ध पश्चात नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको अवस्थामा गणतन्त्र स्थापना गर्ने योद्धाहरुका, जनमुक्ति सेना नेपाल वा बाल सेना, शहिद, बेपत्ता परिवार, घाइते अपाङ्ग योद्धाहरुको मागलाई समाधान गर्न राज्य र तत्कालिन नेकपा माओवादी लाई शान्ति वार्ता ल्याउन भुमिका खेल्ने तत्कालिन समयका राजनैतिक दलहरु सँग अधुरो शान्ति प्रकृयालाई पुरा गर्न समस्या समाधानको पाटो लाई हल गराउन ०६८ साल देखि बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष सामिति गठन गर्दै देश व्यापी रुपमा न्याय र इन्साफको पक्षमा संघर्ष गर्दै आईरहेका छौं । 

संघर्षका क्रममा हामीले नेपालका प्रमुख राजनैतिक दलका शिर्ष नेतृत्व, नागरिक समाज, मानव अधिकार आयोग लगायत सम्बन्धित विभिन्न निकायलाई ४००९ जना बर्हिगमित जनमुक्ति सेनाको समस्या सम्बोधन गर्न ज्ञापनपत्र बुझाउने कार्य भए । समस्या समाधानको निम्ति ध्यानाकर्षण गर्दै, दवाव दिदै शान्तिपुर्ण आन्दोलन र विभिन्न चरणका सडक संघर्षका पनि कार्यक्रम हामीले देशव्यापीरुपमा गर्दै आएका छौं । 

यद्यपि, आजको मिति सम्म समस्याको समाधानमा कुनै पनि निकायले चासो दिएको छैन । तर, सरकारले केहि समय अगाडी हामीलाई वार्तामा बोलाएको थियो । हाम्रो तर्फ बाट वार्तालाई स्विकार्दै विभिन्न चरणमा सरकार सँग निस्कर्ष विहिन वार्ता भए । वार्तालाई फलदायी बनाई हाम्रो समस्या समाधान गर्न सरकार पक्ष गम्भिर नभएको हामीले पाएका छौं । 

२०६६ सालमा सात वटै शिविरबाट बर्हिगमित बनाउने क्रममा तत्कालिन सरकारले हाम्रो व्यवस्थापन ३ महिना भित्र गर्ने कुरा सार्वजनिक रुपमा बोलेको थियो । आजको दिन सम्म पनि हाम्रो उचित व्यवस्थापन, अयोग्यको विल्ला खारेज गर्ने लगायत विषयमा कुनै पनि विषय कार्यन्वयन भएका छैनन । यो गणतन्त्र नेपाल स्थापना गर्ने योद्धाहरु प्रतिको अपमानको रुपमा हामीले बुझेका छौं । 

सरकारले अभिभाकत्व लिएर यस विषयलाई समाधान गर्नुको साटो विभिन्न तरिका अपनाएर आन्दोलनलाई कमजोर बनाउने, संघर्षलाई गलाउने, तितर बितर पार्ने कार्यमा भुमिका खेलिरहेको आभाष भएको छ । हामी नेपालको शान्ति प्रकृया, नेपाली जनताको चाहना र भावनालाई सधै सम्मान गर्छौं । राज्यले हामी पिडितका समस्यालाई समयमा नै सम्बोधन गरोस । समस्याको समाधान नगरिए सम्म यो नेपालको शान्ति प्रकृया कहिल्यै पुर्ण हुने छैन । नेपालको समृद्धिको सपना पनि सधैं अपुरो नै रहन्छ । 

न्यायका निम्ति आवाज उठाउँदा हाम्रा साथिहरुलाई राज्यले गिरफ्तार गर्ने, केहि साथीलाई बिना कसुर जेल हाल्ने यस्ता कार्य राज्यबाट बन्द हुनुपर्छ । यस्ता समस्याले पुनः अर्को द्धन्द्ध सिर्जना गर्न सक्ने भएकाले राज्य सचेत, संयम र सम्वेदनशिल हुन जरुरी छ । हामी चाहन्छौं, औपचारीक रुपमा सार्वजनिक गरेका हाम्रा माग मुद्दालाई राज्यले समाधान गरोस । परिवर्तनका निम्ति योगदान पुराउने योद्धाहरुलाई अलपत्र नपारियोस । 

१७ हजार मान्छेका बलिदानी र हामी योद्धाहरुको त्याग ,समर्पण बाट आज गणतन्त्र मुलुक प्राप्त गरेका छौं । उत्पिडित, पिडित भएर गणतन्त्रमा बाच्न नेपाली जनताले यो उपलब्धी ल्याएको होइन । त्यसकारण अबको समस्याको समाधान जसले समस्या बनाए उसै बाट समाधान होस । अनि मात्र गणतन्त्र नेपालको आभाष सबैले गर्न पाउँछन । गणतन्त्रमा योद्धाहरु नै अपमानित हुनुपर्ने, जनता नै पिडित हुनुपर्ने अवस्थाको अन्त्य होस । बलियो गणतन्त्र, समृद्ध नेपाल हाम्रो चाहना हो ।   

समस्याका समाधानका उपाय 

१. बहिर्गमित जनमुक्ति सेनालाई मात्र हैन, देशका हरेक युवालाई क्षमता, शिप र आवश्यकता अनुसार विभिन्न क्षेत्रमा रोजगारीको अवसर राज्यले प्रदान गर्नुपर्छ । 

२. सहमति, सम्झौताका पालना राज्यले गर्नपर्छ, किनकी राज्य भनेको हरेक नेपाली नागरिकका अभिभावक हुन । बहिर्गमित जनमुक्ति सेना सँग राज्यले गरेको सहमति सम्झौता निःशर्त पालना गर्नैपर्छ । 

३. युवाहरुलाई सामाजिक सेवा तर्फ आकर्षित गनुपर्छ । जस्तोः विकास निर्माणमा वा राष्ट्रिय गौरवका योजनाहरुमा युवाहरुको सकृय सहभागिता गराउनुपर्छ । 

४. शान्ति, स्थायित्वको निम्ति स्वदेशमा नै युवाहरुले आफ्नो भविष्य प्राप्त गर्ने आधार राज्यले निर्माण गर्नुपर्छ । 

५. विगतका द्धन्द्धमा सहभागि भएका बालबालिका र युवाहरुलाई राज्यले उचित व्यवस्थापकीय जिम्मेवारी लिन पर्छ । द्धन्द्धको शेष रहेमा भावि पुस्तामा पनि त्यसले ठुलो असर र चुनौती देखापर्छ र त्यसले पुनः नयाँ द्धन्द्धको आकार लिन सक्छ । यसतर्फ राज्य गम्भिर हुनपर्छ । 

६. वर्तमान नेपालको विकृत राजनीतिका कारण हरेक युवामा वितृष्णा पैदा गरेको छ, सम्पूर्ण राजनैतिक प्रणालीमा रहेका अराजनैतिक प्रवृतिमा स्धार हुन आवश्यक छ । 

७. युवाहरुलाई राजनैतिक स्वार्थमा नेताहरुले आफ्नो हित अनुकुल प्रयोग गर्दै अन्तमा राजनैतिक सफलता प्राप्ति पश्चात युवालाई बेवास्ता गरेको पाईन्छ । यसले समाजमा युवालाई पुनः द्धन्द्धमा धकेल्न सक्छ । यसर्थ नेतृत्वहरुले राजनैकि भित्र मौलाएका यस्ता अप्राकतिक, अराजनैतिक प्रयोगलाई अन्त्य गर्नुपर्छ । 

८. रोग एउटा, उपचार अर्को भयो भने कदापी समस्याको समाधान हुनसक्दैन, त्यसले जटिलता मात्रै थप्नेछ । शान्ति प्रकृयाको भावना र मर्मलाई सबै पक्षले गम्भिरताका साथ बुझन र व्यवहार बाट लागु गर्न आवश्यक छ । हतियार चलाउन जानेको संगठनलाई कमजोर सोच्ने चिन्तन बदल्न जरुरी छ । 

९. नारामा समाजवाद, समृद्ध नेपालले मात्रै देशको समृद्धि र सुशासन कायम हुन सक्दैन, यसका निम्ति काम गर्न सक्ने दक्ष वा अदक्ष युवा शक्तिलाई राष्ट्र निर्माणमा राज्यले परिचालन, सहभागिता र व्यवस्थापन गर्न सके हरेक समस्याका समाधान युवाहरु हुन भन्ने संदेश देशमा पुराउन सकिन्छ । 

१०. राजनीति लाई अपराधीकरण र अपराधलाई राजनैतिकरण गरेर समस्याको समाधान हुन सक्दैन । समस्या ठिक ढंगले पहिचान गरेर सम्बोधन गरे पक्कै पनि मुलुकले शान्तिको सास फेर्न सक्छ । 

११. साना हुन वा ठुला कुनै पनि समस्यालाई गम्भिरताका साथ समाधानका उपाय राज्यले खोज्न पर्छ, राज्य बाटै समस्यालाई बेवास्ता गर्ने, पक्ष वा विपक्षमा राज्यले विभेद गर्ने, अल्मलाउने आदिमा सरोकारपक्ष गैर जिम्मेवार बने भविष्यमा जन्मने नयाँ द्धन्द्धको भागिदार स्वयम राज्य वा सम्बन्धित पक्ष हुने भएकाले सबैले कर्तव्यलाई पालना गरौं । यहिनै समाधान हुन द्धन्द्ध व्यवस्थापनका । 

थापा बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका उपाध्यक्ष तथा प्रवक्ता हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *