संसदमा प्रधानमन्त्री : सरकारको प्रतिरक्षा, विपक्षीलाई कटाक्ष, महाकालीवारि सडक खन्दै भारत, घर फिर्दाको खुसी

फागुन ४, काठमाडौं । आज राजधानीबाट प्रकाशित सबैजसो पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका छन् । प्रधानमन्त्री केपी ओलीले जनताले अनुभूति गर्ने गरी नै मुलुक विकास र समृद्धितर्फ अघि बढेको दाबी गरेको समाचार आजको नयाँ पत्रिकामा छ ।  

सरकारले दुई वर्ष पूरा गरेको अवसरमा शनिबार संसद्समक्ष कामको फेहरिस्तसहित करिब डेढ घन्टा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले विकासको सूचकांकले तथ्यांकका रूपमा मात्र नभएर जनताले अनुभूति गर्ने अवसर पाएको बताए । उनले राष्ट्रिय सभा निर्वाचन, स्थानीय तह र संसद्को उपनिर्वाचनमा देखिएको परिणामदेखि आर्थिक र मानव विकास सूचकांक हुँदै सूचना प्रविधि र पुनर्निर्माणको क्षेत्रमा देशले हासिल गरेको प्रगतिका १५ सूची अनुभूति गर्न सकिने सूचीका रूपमा प्रस्तुत गरे । 

‘पहिले सरकारका प्रतिबद्धता र उद्देश्यबारे चर्चा गर्दा गफ गरेर हुन्छ ? गर्छु होइन, गरेँ भन्नुपर्‍यो । काम गरेको देखिनुपर्‍यो नि, तथ्य खोइ ? भन्ने सुन्थेँ । अहिले परिवेश अलि भिन्न देखिएको छ । यो एक वर्षदेखि एउटा थेगोजस्तै अंक र आँकडाबाट हुन्छ ? ग्लोबल इन्डेक्समा होइन, जनतामा इम्प्रेसन के छ रु बुझ, भन्नेजस्ता कुरा सुनिन थालेको छ,’ इन्डेक्समा नभएर इम्प्रेसनमै कुरा राख्न खोजेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्ता तर्क सुन्दा वेलावेलामा म विस्मित हुने गर्छु । भनौँ कि जस्तो पनि लाग्छ, ठीकै छ । अंकमा होइन, अनुभूति नै सही इन्डेक्स होइन, इम्प्रेसनकै कुरा गरौँ न त !’   

पहिलोलाई आधार वर्ष र दोस्रोलाई विकासको आरम्भ वर्षका रूपमा सरकारले लिएको चर्चा गर्दै उनले कार्यकाल पूरा गरेर अर्को आमनिर्वाचनमा जाँदा घोषणापत्रमार्फत व्यक्त प्रतिबद्धता पूरा हुने दाबी गरे । वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने बलियो जगमा खडा भएकाले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना र दृढतासहित अघि बढिरहेको बताए । आफ्नो सरकार बन्नुअघि तराईमा शीतलहर र हिमाली क्षेत्रमा जाडोले कठ्यांग्रिएर ज्यान गुमाउने गरेकामा दुई वर्षयता कसैले पनि ज्यान गुमाउनु नपरेको विषय अनुभूति गर्न सकिने उनको भनाइ थियो । 

समाचार अनुसार ४० वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तोकिएको समयभित्रै पुनर्निर्माण गरिएको र जुनसुकै विमान पनि उड्न र बस्न सक्ने गरी विमानस्थल व्यवस्थित गरिएको उनले बताए । ‘धेरै ठाउँमा एयरपोर्टहरूको विकास, विस्तार गरिएको छ र रात्रिसेवाहरू पनि अगाडि बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वार्षिक ३२ हजारभन्दा बढी अन्तर्राष्ट्रिय र झन्डै ९२ हजार आन्तरिक उडान हुने गरेका छन् । यो अंक पनि हो र अनुभूति पनि,’ प्रधानमन्त्री ओलीले भने ।   

२४ वर्षदेखि चर्चामा सीमित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आफूले शिलान्यास गरेको १७ महिनामै सम्पन्न भएको, दक्षिण एसियामा नेपाल यसै अवधिमा पहिलो खुला दिसामुक्त मुलुक घोषणा गरेको उनको भनाइ थियो । त्यस्तै, ८९ प्रतिशत जनसंख्याको आधारभूतस्तरको खानेपानीमा पहुँच पुगेको, दुई वर्षमा तराई–मधेसका २० जिल्लामा चार सय ११ किलोमिटर ढल निर्माण गरिएको तथ्यांक पनि सदनसमक्ष प्रस्तुत गरे । 

अन्नपूर्ण पोष्टले ‘एकै दिनमा रोम पनि बनेन’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ । प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालका लागि सरकारले बिरुवा रोपेको तर फल प्राप्त हुन समय लाग्ने बताएका छन् । सरकारको दुई वर्षको उपलब्धि विवरण शनिबार संसद्मा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले शुरू गरेका काम अहिल्यै फुलिसकेरफलिसके भन्ने होइन । बिरुवा रोप्ने काम भएको छ । कतै उम्रिँदै छन्, कतै टुसाउँदै छन्, कतै हुर्किदै पनि छन् ।’ 

प्रधानमन्त्री ओलीले भने, ‘रोम वाज नटबिल्ट इन वान डे, एकैदिनमा त रोम पनि बनेको थिएन ।’ उनले जनतामा अनुभूति हुने गरी सरकारले दुई वर्षमा केही काम गरेको दाबी गरे, समाचारमा छ । सरकारले प्रगतिका आँकडा प्रस्तुत गर्दा जनताको इम्प्रेसनको कुरा उठाउने गरिएको भन्दे प्रधानमन्त्री ओलीले भने, ‘यस्ता तर्क सुन्दा बेलाबेलामा म विस्मित हुने गर्छ भनो कि जस्तो पनि लाग्छ- ठिकै छ । अंकमा होइन, अनुभूति नै सही इन्डेक्स होइन,इम्प्रेसनकै कुरा गरौं न त !’ 

कोरोना भाइरस संक्रमण फैलिएको चीनको हुबेई प्रान्तबाट १७५ नेपाली स्वदेश फिरेको समाचार कान्तिपुरमा छ । उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्दार गरिएको हो । उद्धार गरिएकामा १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदार छन् । 

कोरोना संक्रमण चीनभर र अन्य दुई दर्जन मुलुकमा फैलिएपछि हुबेईमा रहेका १८५ नेपालीले घरु फर्कन बेइजिङस्थित नेपाली दुतावासमा निवेदन दिएका थिए । तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेको दूतावासले जनाएको छ। अरू ६ जना फर्कन पाएनन् । दूतावासका अनुसार चार जनामा ज्वरो देखिएकाले र दुई जना उनीहरूकै परिवारका सदस्य हुनाले नउडेका हुन् । घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन् । घर फर्कन पाएका विद्यार्थीको अभिभावकले राहतको सास फेरेका छन् ।   

समाचार अनुसार उनीहरूले आफ्ना सन्तानलाई स्वदेश फर्काउनका लागि सरकारलाई दबाब दिन संघर्ष समिति नै बनाएका थिए । ‘क्वारेन्टाइनमा राख्ने भनिएको खरिपाटीमा के-कस्तो व्यवस्था छ, हामीलाई थाहा छैन । देशमै फर्किएपछि जेसुकै होस् । १५-२० दिनको कुरा न हो,’ संघर्ष समितिका संयोजक वसन्त भण्डारीले भने, ‘अर्काको देशमा डरलाग्दो रोगको महामारी भएका बेला छोराछोरीको चिन्ताले मन पोलेको थियो । अब शान्त भयो ।’ 

अर्का अभिभावक दिनेश श्रेष्ठले क्वारेन्टाइनमा जति दिन राखे पनि आफ्नो कुनै गुनासो नरहने बताए । ‘क्वारेन्टाइनमा १४ दिन मात्र होइन, २१ दिनसम्म पनि राख्नुपर्ने हुन सक्छ भनेर हामीलाई जानकारी दिइएको छ । त्यसमा हाम्रो भन्नु केही छैन,’ उनले भने, ‘महामारीका बेला आफ्नो देश फर्कन पाउनु ठूलो कुरा हो ।’ श्रेष्ठले आफूलाई अहिले बच्चा जन्मिँदा अस्पतालको अपरेसन थिएटर बाहिर कुरिरहेको जस्तो भान भएको सुनाए ।  कान्तिपुर दैनिकमा खबर छ । 

राजधानी दैनिकमा सरकारले काठमाडौं भित्रने र बाहिरिने प्रमुख नाकाको रूपमा रहेको नागढ़ुंगा सडकखण्डको स्तरोन्नतिको काम शुरू गरेको समाचार छ । डिभिजन सडक कार्यालय काठमाडौंले शुक्रबारदेखि कालोपत्रे थप्ने काम शुरू गरेको हो । करिब २२ सय मिटर लम्बाइमा कालोपत्रे थप्ने काम दुई सातासम्म हुनेछ । आगामी २० चैतसम्म काम सक्नेगरी ठेक्का सम्झौता भए पनि १० दिनमा कालोपत्रे थप्ने काम सम्पन्न गर्नेगरी काम भइरहेको छ । त्यस अवधिसम्म सवारी आवतजावतमा समस्या पर्ने भएको छ ।   

सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको समाचार गोरखापत्रमा छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो । 

अन्नपूर्ण संरक्षण क्षेत्र आसपासका हिमाली गिद्धको अध्ययन गर्ने उद्देश्यअनुरूप स्याटलाइट जडान गरिएको चराविद् डा.तुलसी सुवेदीले जानकारी दिए । उनले भने, ‘नेपालमा थालिएको यो अध्ययन विश्वमै दोस्रो हो, जीपीएस ट्रान्समिटर सहितको स्याटलाइटले हिमाली गिद्धको विचरणसँगै यसको गतिविधिको जानकारी दिन्छ ।’ उनका अनुसार अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ । उमेर बढ्दै जाँदा अल्पवयस्क उमेरमा हिमाली गिद्धको बसाइ सरेर जाने बानी हुन्छ । 

यस उमेरमा उसले टाढाटाढा विचरण गर्दै यात्राको अनुभव लिने गर्छ । यसरी बसाइ सरेर हिँड्दा हिमाली गिद्ध कुन कुन ठाउँमा पुग्छ र के के गतिविधि गर्छ भन्ने कुरा नै अध्ययनको विषयवस्तु हो । समाचार अनुसार हिमाली गिद्धले अन्य प्रजातिका पन्छी र वातावरणमा जनाउने प्रतिक्रिया बटुल्न पनि अध्ययन सहायक हुने अनुमान गरिएको छ । हालसम्म स्याटलाइट जडान गरिएका तीनवटा गिद्धको स्याटलाइटले फरक फरक सूचना दिइरहेको छ । 

‘एउटा हिमाली गिद्ध भारतको मध्यप्रदेश पुगिसकेको खबर स्याटलाइटबाट प्राप्त भएको छ, अर्को गिद्ध सुदूरपश्चिमको खप्तड हुँदै दैलेख, बर्दियाको माथिल्लो भेगमा विचरण गरिरहेको पाएका छौं,’ सुवेदीले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *