प्रधानमन्त्रीलाई डा. शेखरको सुझाव :‘राजीनामा दिनुहोस्’

फागुन १५, काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता डा. कोइरालाले प्रधानमन्त्रीको चौतर्फी आलोचना बढेका बेला राजीनामा दिँदै नयाँ समीकरणमा लाग्न सुझाएका हुन् ।   

डा. कोइरालाले ओली सरकार पछिल्लो समय विभिन्न विवादमा फस्दै गएको र अलोकप्रिय भएकाले नैतिकताका आधारमा पनि सरकारमा बस्न नहुने भन्दै राजीनामा दिन सुझाव दिएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।   

नेकपा भित्रको आन्तरिक कलहले प्रधानमन्त्री ओलीलाई सरकार चलाउँन समेत सकस परेका बेलामा प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता डा. कोइरालाले राजीनामा दिन सुझाव दिनुमा अर्थपूर्ण रहेको राजनीतिक विश्लेषकको धारणा छ । 

भेटघाटमा डा. कोइराला र प्रधानमन्त्रीबीच समसामयीक राजनीति, नेकपा सरकारले गरेका काम कारवाही र दुबै पार्टीभित्र देखिएका अन्तरविरोधका विषयमा पनि छलफल भएको छ । बालुवाटार श्रोतका अनुसार डा. कोइराला र प्रधानमन्त्री ओलीबीच सत्तासमीकरणका विषयमा पनि व्यक्तिगत कुराकानी भएको छ ।   

भेटघाटमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिनु, उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा ल्याउने निर्णयमा विवाद हुनु तथा सरकारका अन्य कामकारबाही पनि विवाद रहित नहुनुले सरकार अलोकप्रिय भएको डा. काइरालाले प्रधानमन्त्रीलाई बताएका थिए । ‘यो सरकार एक पछि अर्काे काण्डमा फस्दै गएको छ , जसले गर्दा राजनीतिक पार्टीहरु प्रति जनताको वितृष्णा बढेको छ । यसलाई चिर्नपनि नयाँ राजनीतिक समीकरण चाहिएको छ ।’ डा. कोइरालको भनाइलाई उद्धृत गर्दै श्रोत भन्दछ । 

हिजो (बुधबार) नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सिफारिस गर्ने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यसपछि नेकपा भित्र शीर्ष नेताहरुबीचनै किचलो सुरु भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *