‘एमसीसी खारेज नभए नेपाल बन्द गर्छौँ’

फागुन ११, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए नेपाल युद्धभूमि बन्ने बताएका छन् । एमसीसी नेपालको लागि घातक हुने उनको भनाइ छ । 

‘एमसीसी पारित भयो भने नेपाल सिरिया, इराक, अफगानिस्तान जस्तो युद्धभूमि बन्छ । यो नेपालका लागि घातक छ । हामी यसलाई पारित गर्न दिँदैनौँ’, उनले भने ।   

नेपालमा अहिले एमसीसीको पक्ष विपक्षमा बहस भइरहेको छ । सत्तारुढ दलभित्रै पनि यसको विरोध भइरहेको छ । यद्यपी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी पारित गर्ने पक्षमा छन् ।   

‘अमेरिकी पक्षका बुद्धिजीवीहरु, कुटनीतिज्ञहरु तथा यसका सरोकार पक्षहरुले एमसीसी इन्डोप्यासेफिक रणनीति होइन, यो नेपालको विकाससँग मात्रै जोडिएको छ’ भनेको उल्लेख गर्दै प्रधानमन्त्री र नेकपा अध्यक्ष तथा प्रतिपक्षका सभापति शेरबहादुर देउवाले हरेक सार्वजनिक कार्यक्रममा एमसीसी पारित गर्ने दाबी गर्दै आएका छन् । नेपालको विकासका लागि ५५ अर्ब जसरी पनि लिनुपर्ने, यसलाई गुमाउन नहुने उनीहरुले बताउँदै आएका छन् ।   

अध्यक्ष प्रचण्ड र ओलीले एमसीसी इन्डोप्यासोफिकसँग सम्बन्धित नभएको भनेतापनि नेता सीपी गजुरेल एमसीसी इन्डोप्यासेफिक रणनीतिक अंग नै भएको दाबी गरे । इन्डोप्यासेफिक रणनीतिमा छिराउनका लागि अमेरिकाले आर्थिक सहयोग एमसीसीमार्फत् दिने गरेको उनको भनाइ छ ।   

‘५५ अर्ब रकम सहयोग लिएर नेपालमा अमेरिकालाई प्रवेश दिने र त्यो रणनीति उसले लागु गर्न सक्यो भने नेपाललाई आधार बनाएर चीन, रुस र उत्तर कोरियासँग लड्ने योजना नेपालमा बन्न सक्छ’, नेता गजुरेलले भने ‘एमसीसीको रकम लिएपछि नेपाल असंलग्न परराष्ट्र नीति रहँदैन र अमेरिकाको एउटा फौजीसँग जोडिन पुग्छ । नेपालमा अमेरिकाले चीन विरोधी अखडा बनाउँछ । चीन र अमेरिका बिचको लडाईँको चपेटामा नेपाल पर्छ । यस्तो अवस्थामा नेपालीको स्थिति के हुन्छ ?’ उनको प्रश्न थियो ।   

एमसीसीको विस्तृत अध्ययन तथा छलफलका लागि गठन भएको कार्यदलले प्रतिवेदन बुझाएपछि सरकार अहिले एमसीसी संशोधनमा लचिलो देखिएको उनले बताए ।   

सत्तापक्ष र प्रतिपक्ष नै मिलेपछि त दुई तिहाईले होइन तीन चौथाई बहुमतले नै पास हुने अवस्था रहेका बेला यसविरुद्ध उठेका बहस, आन्दोलन र विरोधका कारण अहिले एमसीसी पारित हुने सम्भावना नरहेको पनि उनले स्पष्ट पारे ।   

यद्यपी एमसीसी प्रस्तावक अमेरिका संशोधन गर्ने पक्षमा छैन । अमेरिकी राजदूतले नै एमसीसी संशोधन गर्न नमिल्ने र यदी नेपाललाई आवश्यक छैन भने फिर्ता लिएर जाने बताइसकेका छन् । यस्तो अवस्थामा एमसीसी अब खारेज हुने नेता गजुरेलको विश्वास छ ।   

यदी एमसीसी फिर्ता लिइएन भने संघर्षका कार्यक्रमहरु गर्ने पनि उनले जानकारी दिए । उनले भने, ‘एमसीसी फिर्ता लिइएन भने हामी एमसीसीका विरोधी सबैलाई भेला गरी सडकमा उतार्छौँ । नेपाल खरानी बनाउने योजनामा सामेल नहुन आग्रह गर्दै प्रत्येक सांसदलाई चिठि दिन्छौँ । संदन घेर्छौँ । नेपाल बन्दको कार्यक्रम समेत राखेका छौँ ।’ 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तथा बाँस्कोटा प्रकरणः ओलीको परीक्षाको घडी   

नेता सीपी गजुरेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पनि धारणा राखेका छन् । यो प्रकरणसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको परीक्षाको घडी सुरु भएको उनले बताए ।   

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बद्ध स्वीस कम्पनीका प्रतिनिधि विजयप्रकाश मिश्रसँग ७० करोड डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाले गत बिहीबार राजीनामा दिएका थिए ।   

बाँस्कोटाको अडियो सार्वजनिक हुने बित्तिकै अर्का अध्यक्ष दाहालसँग छलफल गरेर ओलीले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए । अध्यक्ष प्रचण्ड बाँस्कोटामाथि छानविन गर्नुपर्ने पक्षमा छन् भने प्रम ओली छानविनको विपक्षमा छन् । बाँस्कोटा स्वयम्ले छानविनको माग गर्दै राजीनामा दिएपछि थप छलफल गर्नुको औचित्य नरहेको समेत ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा बताएका थिए ।   

बाँस्कोटालाई प्रधानमन्त्री ओलीका निकट र विश्वासपात्र मानिन्छ । मिश्रले प्रधानमन्त्रीलाई उक्त अडियो डेढ महिनाअघि नै बुझाइसकेको दावी गरेकाले ओली यतिञ्जेल किन मौन बसे भन्ने प्रश्न समेत उब्जिरहेका बेला नेता गजुरेलले मन्त्री बाँस्कोटाले राजीनामा दिँदैमा उनलाई उन्मुक्ति दिन नहुने, कारवाही गर्नुपर्ने बताए । प्रधानमन्त्रीले नै यसको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।   

भ्रष्टाचारमा प्रधानमन्त्रीको पनि हात छ ! 

‘बाँस्कोटाको ७० करोड कमिसनको डिल प्रधानमन्त्री समक्ष डेढ महिना पहिले नै आएको रहेछ । तर उहाँले कारवाही प्रक्रिया अगाडी बढाउनु भएन । उल्टो प्रशंसा गर्नुभयो । जोगाउन खोज्नुभयो । उहाँको जानकारी विना यो भ्रष्टाचार भएको छैन । यस प्रकरणमा प्रधानमन्त्रीको पनि कहीँ न कहीँ हात छ’, नेता गजुरेलले भने ।   

भ्रष्टाचार प्रम ओलीको जानकारी विना नभएको उनले बताए । उनी भन्छन्– ‘प्रधानमन्त्रीका विश्वासिला पात्र तथा आफ्नै घरमा बस्दै आएको मान्छेले यस्तो भ्रष्टाचार गर्छ भने त्यो प्रधानमन्त्रीको जानकारी बिना हुनै सक्दैन ।’ ओली तथा नेकपा सरकार काण्डैकाण्डमा घेरिएको भन्दै उनले अब धेरै सत्तामा नटिक्ने दाबी गरे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *