फागुन १६ गतेदेखि ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ आयोजना हुँदै


फागुन १४, काठमाडौं । काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ आयोजना हुने भएको छ ।
‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिज प्रालिद्वारा आयोजित उक्त महोत्सव फागुन १६ गतेदेखि २० गतेसम्म चल्ने छ ।
नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवको उद्घाटन फागुन १६ गते हुनेछ । सो दिन बिहान ८ बजे माइतीघर मण्डलाबाट विभिन्न झाँकीसहित वृहत र्याली माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा चोक, रत्नपार्क, भद्रकाली, शहिदगेट हुँदै टुँडिखेल पुगि उद्घाटन हुनेछ ।
कार्यक्रमको उद्घाटन उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, संस्कृतिविद् सत्यमोहन जोशीमध्ये एकजनाबाट हुने आयोजकले जनाएको छ ।
फागुन २० गतेसम्म चल्ने काँठे लोकदोहोरी महोत्सव प्रतियोगीतामा ७४ जनाको टिम सहभागी रहने छन् । प्रतियोगीताका प्रथम विजेताले ३ लाख नगद, मेडल, प्रमाणपत्रका साथै अन्य पुरस्कारहरु प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो विजेताले नगद २ लाख, मेडल, प्रमाणपत्र र अन्य पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो विजेताले नगद १ लाख, मेडल, प्रमाणपत्र र अन्य पुरस्कारहरु प्राप्त गर्नेछन् ।
सान्त्वनातर्फ नगद ५० हजार, प्रमाणपत्र र अन्य पुरस्कार, उत्कृष्ट गायक–गायिकालाई नगद १० हजार र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै सर्वाधिक चर्चित काँठे गायक–गायिका ३/३ जनालाई सम्मान गरिने छ । त्यसैगरी सर्वाधिक काँठे गीत रेकर्ड गराएको श्रष्टा २/२ जना, सर्वाधिक लोकप्रिय काँठे लोक गीत गायक/गायिका २/२ जना, सर्वाधिक काँठे गीतमा संगीत संयोजन गर्ने संगीतकार २ जना, सोही क्षेत्रमा सर्वाधिक कार्यक्रम सञ्चालन गर्ने प्रस्तोता २ जना, पत्रकार २ जना, बहुप्रतिभाशाली कलाकार १ जना र सुमधुर स्वरकी धनी गायिका १ जनालाई सम्मान गरिने आयोजक तथा संयोजक नमराज ढुंगानाले जानकारी दिए ।
मेलापातमा झुण्डिएका तर डिजिटल बजारमा व्यसायिक रुपमा अगाडी आउन नसकेका नयाँ तथा पुराना भाका, गीत, संगीतलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महाेत्सवमा दिवंगत श्रष्टा ५ जना र पुराना सर्जक ७ जनालाई पनि सम्मान गरिने छ । कार्यक्रमको अन्तिम दिन २० गते पर्यटनमन्त्री योगेश भट्टराई उपस्थिति रहने छ ।
